शुक्रबार, ०५ डिसेम्बर २०२५

‘ताजा जनमत पाउन काँग्रेस पनि ‘ताजा’ अनुहार लिएर चुनावमा जानुपर्छ’

News Image
• • •

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सुरुवातदेखि नै नेपाली काँग्रेसको महाधिवेशन विधानअनुसार यही मंसिर महिनाभित्रै हुनुपर्ने अडानमा आफू अडिग रहेको बताएका छन्। काठमाडौंमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरूसँग अनौपचारिक छलफलका क्रममा कोइरालाले अहिले उत्पन्न परिस्थितिले नेपाली काँग्रेसलाई समयमै महाधिवेशन गर्नका लागि झन् बाध्य बनाएको पनि नेतृत्वले बुझ्नुपर्ने बताए।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु’ उनले भनेका छन् ‘अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ।

पार्टीभित्रै नयाँ नेतृत्वका साथा ताजा जनमतका लागि आम निर्वाचनामा होमिनुपर्ने अवस्था आइपुसकेको भन्दै उनले नेतृत्व वा कसैले पनि महाधिवेशनका बारेमा दायाँबायाँ गर्न नहुनेमा जोड दिए। देशैभरिका नेपाली काँग्रेसका कार्यकर्ता तथा लाखौं शुभेच्छुकहरूले अहिले नेपाली काँग्रेस र उसका निर्णयहरूलाई पर्खिरहेको भन्दै पार्टीलाई नै अनिर्णयको बन्दी बनाउँदा त्यसको परिणाम अझ नराम्रो हुने चेतावनीसमेत दिए।

‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ। २०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिनेगरी बनाउनुपर्छ’ उनले भनेका छन् ‘देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशिल रहेका साथीहरुले पार्टीलाई बचाइरहनु भएको छ। पार्टीका लाखौं शुभेच्छुकहरु र बाह्य सबै पक्षले अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेका छन, पर्खिरहेका छन्।’

पार्टीभित्र र राष्ट्रभित्रै पनि एकता र सद्भाव कायम राख्नका लागि आफूले सबै पक्षसँग मिलेर अघि बढिरहेको भन्दै उनले सबैले सबैप्रकारका अनावश्यक हठ त्यागेर एकताको बाटोमा अघि बढ्नुपर्ने बेला भएको पनि बताए।

‘नेपाली कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भै अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ। बिगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नहुन्न’ कोइरालाले भने ‘म पार्टीमा एकता, मेलमिलाप चाहन्छु। गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहन्छु ।कोही कसैप्रति आग्रह-पुर्वाग्रह नराखी हामी अघि बढ्नै पर्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!