सोमबार, ०८ डिसेम्बर २०२५

निकोलस भुसालले गरे पाथीभरादेखि लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा

News Image
• • •

पहिला देश (पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ।

‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ।

पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेनजीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरूले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए।

पहिला देशका प्रवक्ता डा.निकोलस भुसालले जेनजी युवाहरूलाई गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरूलाई पक्रने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन्।

बदलिँदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए।

पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने अवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए।

संकल्प यात्रा अभियानः

मंसिर ५ गते ताप्लेजुङ र पाँचथर, मंसिर ६ गते इलामा र झापा, ७ गते मोरङ–सुनसरी, ९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ, ११ गते ओखलढुङ्गा–सिन्धुली, १३ गते सप्तरी,सिराहा र धनुषा, १५ गते बारा,पर्षा र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही, कपिलबस्तु र दाङ, १९ गते प्युठान, रोल्पा र रुकुम, २१ गते सल्यान र जाजरकोट, २१ गते सुर्खेत र दैलेख, २३ जुम्ला र कालिकोट, २५ बजाङ र बाजुरा, २६ गते दार्चुला र बैतडी, २८ गते डडेलधुरा र कञ्चनपुर, ३० गते कैलाली र डोटी, पुष १ गते अछाम, ३ गते बाँके र बर्दिया, ४ गते लिम्पियाधुारा।

त्यसैगरी काठमाडौं र वरिपरिका ७ जिल्लामा पुष ७ गतेदेखि १० गतेसम्म पहिला देश (पिलुल्स रिभोल्यूसन)ले अभियान चलाउने जानकारी दिएको छ।

देश दौडाहा सकेपछि पुष १५ गते राजधानी काठमाडौंमा वृहत राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!