आइतबार, १४ डिसेम्बर २०२५

मधेसमा राजनीतिक संकट: सभामुखले सांसद निलम्बन गरे, उपसभामुखले थमौती गरिन्

News Image
• • •

मधेश प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन्।

सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ।

सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै जसपाका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए।

लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन्।

यसअघि मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका थिए। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो।

पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् । उनीहरूले लगातार १० वटा प्रदेश सभा बैठकमा हाजिर नभएको भन्दै सभामुख मण्डलले नियम अनुसार उनीहरूलाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन्।

‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख  ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!