महेश चौलागाईं
पूर्वप्रतिनिधि सभा सदस्य विनिता कठायत जुम्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकी छन्।
उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै राज्यबाट निर्माण गरिएका नीति, कानुन र बजेट प्रणाली कर्णाली क्षेत्रमैत्री नभएको भन्दै कडा आलोचना गरिन्।
कठायतले कर्णालीको भूगोल, जनसंख्या संरचना र सामाजिक अवस्थालाई बेवास्ता गरेर बनाइएका नीति तथा कानुनले यहाँका नागरिकका समस्या समाधान गर्न नसक्ने बताइन्।
'जनसंख्या र भूगोलको यथार्थ अवस्थाका आधारमा बजेट विनियोजन हुनुपर्छ', उनले भनिन्, 'तर अहिलेसम्म कर्णालीका लागि छुट्याइने बजेट आवश्यकता र कठिनाइअनुसार नभई औपचारिक मापदण्डमा सीमित छ।'
उनले नीति र कानुन पनि एउटै ढाँचामा नभइ, भूगोलअनुसार फरक–फरक बन्नुपर्ने धारणा राखिन्।
दुर्गम कर्णालीका लागि विशेष कानुनी व्यवस्था, सेवा–सुविधा र संरचना आवश्यक रहेको उल्लेख गर्दै उनले यसतर्फ राज्यको ध्यान नपुगेको गुनासो गरिन्।
आफ्नो अघिल्लो संसदीय कार्यकाल स्मरण गर्दै कठायतले कर्णालीका विभिन्न स्थानमा सामाजिक र भौतिक पूर्वाधार निर्माणमा सक्रिय भूमिका खेलेको दाबी गरिन्।
उनका अनुसार तातोपानी गाउँपालिकाको ऐरेनीमा जेष्ठ नागरिक भवन निर्माण गरिएको छ भने तिला गाउँपालिका वडा नम्बर ६ मा वर्थिङ सेन्टर स्थापना गरिएको छ। त्यसैगरी चन्दननाथ नगरपालिकामा वृद्धाश्रम सञ्चालनमा ल्याउने पहल गरिएको थियो।
शिक्षा र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले केटिएसमा करिब तीन करोड रुपैयाँ लागतको छात्रा होस्टेल निर्माण प्रक्रिया अघि बढाइएको र खेलाडीकाे लागि अल्टिच्युड सेन्टर स्थापना गरिएको जानकारी दिइन्।
यी परियोजनाले कर्णालीका महिला, बालबालिका, जेष्ठ नागरिक र विद्यार्थीलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ थियो।
कठायतले संसद्मा रहँदा विधेयक संशोधनमार्फत कर्णालीमैत्री कानुन निर्माणका लागि निरन्तर आवाज उठाएको बताइन्। तर खस सभ्यतासम्बन्धी विधेयक अझै अपूर्ण रहेको उनको टिप्पणी थियो।
सिञ्जा क्षेत्रलाई खस सभ्यताको जननी मानिए पनि हाल दुई तिहाइ भूभागलाई मात्र सभ्यताको क्षेत्रका रूपमा समेटिएकोप्रति उनले आपत्ति जनाइन्।
'खस सभ्यताको विषय युवासँग पनि अपूर्ण छ', उनले भनिन्, 'पुराना पुस्तादेखि युवासम्म सबैलाई जोडेर यसको संरक्षण, अध्ययन र प्रवर्द्धन गर्नुपर्छ।'
खस भाषा, पहिरन र संस्कृतिको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै उनले औपचारिक कार्यक्रमहरूमा खस भाषाको प्रयोग, सांस्कृतिक पहिरन र परम्परागत अभ्यासलाई संस्थागत गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रमहरूमा खस सभ्यतासँग सम्बन्धित सपथ, सांस्कृतिक प्रस्तुति र अभ्यासलाई प्रोत्साहन गर्न सकिने उनको सुझाव थियो। यसका लागि कानुनी र नीतिगत आधार तयार गर्न संसद्मा पुनः आफू सक्रिय हुने प्रतिबद्धता उनले जनाइन्।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ जुम्लाबाट उम्मेदवारी दिएकी कठायतले प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि आफू जनमतप्रति आशावादी रहेको बताइन्।
'उनीहरूलाई पनि चुनौती छ, मलाई पनि छ', उनले भनिन्, 'तर म ढुक्क छु–जुम्लाका जनताले सही व्यक्ति चुन्नुहुन्छ। यसपटक जुम्लाबाट घण्टी बज्छ।'
उनले कर्णालीको समग्र विकास, पहिचान र अधिकारका लागि संसद्मा बलियो आवाज आवश्यक रहेको उल्लेख गर्दै आफूलाई त्यसको प्रतिनिधिका रूपमा अघि बढाएको स्पष्ट गरिन्।
के बालेन ओलीले भनेजस्तै फिरंगी नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया