महेश चौलागाईं
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा जुम्लाको राजनीति बेस्सरी तातेको छ। यसपटक चर्चा र विवादको केन्द्रमा छन् नरेश भण्डारी।
कुनै बेला निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउने उनी आज लोकतन्त्रको संरक्षकझैँ प्रस्तुत भइरहेका छन्। यही विरोधाभासले जुम्लाको राजनीतिलाई फेरि बहसको केन्द्रमा ल्याएको छ।
२०७० सालको निर्वाचनताका भण्डारीले ब्यालेट बक्स नदीमा बगाएको घटना आज पनि धेरैको स्मृतिमा ताजा छ।
त्यो घटना सामान्य आक्रोश थिएन। त्यो प्रत्यक्ष रूपमा लोकतान्त्रिक प्रक्रियामाथिको आक्रमण थियो। मतदाताको अधिकारमाथि खेलवाड थियो।
जनताको निर्णयलाई अस्वीकार गर्ने मानसिकताको प्रतिक थियो, त्यो। त्यही घटना जुम्लाको राजनीतिक इतिहासमा गहिरो घाउ बनि बसेको छ।
त्यसअघि जुम्लामा कम्युनिस्ट पार्टी बाहेक अरू दलले चुनाव जित्न कठिन मानिन्थ्यो। जनतामा कम्युनिस्टप्रति विश्वास थियो। संगठन बलियो थियो। कार्यकर्ता सक्रिय थिए।
तर भण्डारीको त्यो कदमले त्यो विश्वासलाई कमजोर बनायो। पार्टीभित्रै असन्तोष बढायो। बाहिर जनतामा निराशा फैलायो।
त्यसको प्रत्यक्ष असर देखियो चुनावी परिणाममा। भण्डारीका युद्धकालीन सहकर्मी नेता गजेन्द्र महत कार्माले हार व्यहोर्नुपर्यो।
त्यो हार केवल व्यक्तिको हार थिएन। त्यो पार्टीको साखमाथिको चोट थियो। कार्यकर्ताको मनोबलमाथिको प्रहार थियो। लोकतान्त्रिक अभ्यासमाथिको धक्का थियो।
आज समय फेरिएको छ। राजनीतिक परिवेश बदलिएको छ। भण्डारी अहिले राजतन्त्रको विरोध गर्दै हिँडिरहेका छन्। उनी आफूलाई लोकतन्त्रको पक्षपातीका रूपमा प्रस्तुत गर्छन्।
उनी ज्ञानेन्द्र शाहीको खुलेर विरोध गर्छन्। भाषणमा संविधानको कुरा गर्छन्। जनताको सार्वभौमिकताको कुरा गर्छन्। तर विगतका कर्मले उनका आजका शब्दलाई कमजोर बनाइदिन्छ।
जनताले सोधिरहेका छन्। जसले मतपेटिकाको सम्मान गरेन। जसले जनताको मतलाई नदीमा बगायो। उसले आज कसरी लोकतन्त्रको पाठ पढाउन सक्छ?
जसले प्रक्रियालाई भत्कायो। उसले आज कसरी प्रणाली जोगाउने कुरा गर्न सक्छ? यो प्रश्न सजिलो छैन। तर टार्न पनि सकिँदैन।
भण्डारीको भूमिकाले जुम्लामा नयाँ राजनीतिक परिस्थिति बनायो। गैर कम्युनिस्ट शक्तिहरूलाई मौका मिल्यो। वैकल्पिक नेतृत्व जन्मिन थाल्यो। जनताले विकल्प खोज्न थाले।
पुरानो एकाधिकार कमजोर भयो। यस अर्थमा जुम्लामा गैर कम्युनिस्टले चुनाव जित्ने बाटो खोल्ने काम स्वयं भण्डारीले गरे।
यो इतिहासको विडम्बना हो। आफूले भत्काएको घर आफैं मर्मत गर्न खोज्नुजस्तै अवस्था बनेको छ।
कुनै बेला ब्यालेट बक्स बगाउने नेता आज त्यही बाकस खोज्दै हिँडिरहेका छन्। मतपेटिकाको सुरक्षाको कुरा गरिरहेका छन्। निष्पक्ष निर्वाचनको वकालत गरिरहेका छन्।
राजनीतिमा परिवर्तन सम्भव हुन्छ। गल्ती सच्याउने अवसर पनि हुन्छ। तर त्यसका लागि आत्मस्वीकृति आवश्यक हुन्छ। आत्मआलोचना आवश्यक हुन्छ।
भण्डारीले अहिलेसम्म आफ्ना विगतका कर्मप्रति सार्वजनिक रूपमा पश्चात्ताप गरेको देखिँदैन। उल्टै आफूलाई पीडितझैँ प्रस्तुत गर्ने प्रयास देखिन्छ।
जुम्लाका मतदाताहरू आज धेरै सचेत छन्। उनीहरू इतिहास बिर्सँदैनन्। उनीहरू भाषणभन्दा कर्म हेर्छन्। वाचा होइन, व्यवहार खोज्छन्। त्यसैले भण्डारीको आजको अभियान सजिलो छैन। विगतको छायाँले उनलाई पछ्याइरहेको छ।
चुनाव जित हारको विषय होइन। यो राजनीतिक नैतिकताको परीक्षा हो। लोकतन्त्रप्रतिको प्रतिबद्धताको परीक्षण हो।
विगतका गल्तीलाई स्वीकारेर नयाँ बाटो समात्ने अवसर हो। भण्डारीले त्यो अवसर उपयोग गर्छन् कि गर्दैनन्, त्यो अब जनताले निर्णय गर्नेछन्।
जुम्लाको राजनीतिमा भण्डारी एउटा विरोधाभासपूर्ण पात्र बनेका छन्। भत्काउने र बनाउने दुवै प्रक्रियामा संलग्न व्यक्ति बनेका छन्।
इतिहासका दोषी पनि उनी नै छन्। परिवर्तनका दावेदार पनि उनी नै छन्। आफैं झाँक्री आफैं बोक्सी भनेको यही होला सायद। यही द्वन्द्वभित्र उनको राजनीतिक भविष्य तय हुनेछ।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया