सोमबार, १५ जुन २०२६

उर्लाबारीमा सञ्चारकर्मी श्रेष्ठमाथि हातपात

तेजन खड्का

तेजन खड्का

उर्लाबारी
News Image
• • •

मोरङको उर्लाबारी क्षेत्रमा सञ्चारकर्मी एवं सर्प उद्धारकर्तामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन दर्ता गरिएको छ। पीडित पक्षले घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुनी कारबाही गर्न माग गर्दै सुरक्षा समेतको अपिल गरेका छन्।

जिल्ला मोरङ, मिक्लाजुङ गाउँपालिका–५ निवासी करिब ३० वर्षीय गणेश श्रेष्ठले प्रहरीमा दिएको निवेदनअनुसार घटना उर्लाबारी नगरपालिका–३ आसपास भएको उल्लेख गरिएको छ। श्रेष्ठमाथि ज्यान मार्ने उद्देश्यसहित अन्धाधुन्ध प्रहार गरिएको बताइएको छ।

निवेदनमा श्रेष्ठले आफूलाई अपरिचित व्यक्तिहरूले एक्कासी आक्रमण गरेको बताएका छन्। उनका अनुसार घटना साँझ करिब ७ बजे भएको हो। सामान्य कामका क्रममा उक्त स्थानमा पुगेका बेला केही व्यक्तिहरूले बोलाएर विवाद सुरु गरेको र त्यसपछि गालीगलौज गर्दै कुटपिटमा उत्रिएको उल्लेख छ। उनलाई घेरेर अपशब्द प्रयोग गर्दै हातपात गरिएको निवेदनमा जनाइएको छ।

घटनापछि घाइते भएका श्रेष्ठको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचार भइरहेको उनका सहकर्मी रमेश भण्डारीले जानकारी दिए। श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

पीडितले आफ्नो शरीरमा चोट लागेको साथै साथमा रहेका सामग्रीसमेत क्षति भएको दाबी गरेका छन्। ज्यान जोगिए पनि उनले लगाएका सुनका सिक्री हराएको उल्लेख गर्दै आर्थिक नोक्सानी भएको बताएका छन्।

घटनापछि आफू मानसिक र शारीरिक रूपमा असुरक्षित महसुस गरिरहेको श्रेष्ठको भनाइ छ। निवेदनमा संलग्न व्यक्तिहरूको नाम खुल्न सकेको छैन।

अपरिचित व्यक्तिहरूबाट आक्रमण भएको भन्दै उनले पहिचान गर्न कठिन भएको बताएका छन्। तथापि, घटनास्थल आसपासका व्यक्तिहरू तथा सिसिटिभी फुटेजको आधारमा दोषी पहिचान हुन सक्ने अपेक्षा गरिएको छ।

पीडित श्रेष्ठले आफूलाई पुनः आक्रमण हुन सक्ने डर रहेको भन्दै प्रहरीसँग सुरक्षा माग गरेका छन्। उनले ज्यानको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!