बिहिबार, १४ मे २०२६

काठमाडौंको मैतिदेवीमा ‘मैति सोसियल रन– ८३’ सफलतापूर्वक सम्पन्न

News Image
• • •

‘टुगेदर फर चेन्ज, टुगेदर फर हेरिटेज’ भन्ने मूल नाराका साथ नव वर्ष ०८३ र २५७० औं बुद्ध जयन्तीको अवसरमा ‘हामी छौं समाज नेपाल’द्वारा आयोजित ‘मैति सोसियल रन ८३’ सफलतापूर्वक सम्पन्न भएको छ।

३ किलोमिटर लामो सामुदायिक दौड कार्यक्रममा स्वास्थ्य, एकता र सामाजिक जागरूकता प्रवर्द्धन गर्ने विभिन्न उमेर समूहका धावकहरूको उत्साहजनक सहभागिता थियो।

‘मैति सोसियल रन– ८३’ अन्तर्गत विभिन्न विधाका विजेताहरूमा ५५ वर्ष माथिको भेट्रान समूहमा वीरेन्द्रराज बज्राचार्यले १० मिनेट ५९ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जिते भने अनुपराज बज्राचार्य र अर्जुन राजवाहकले क्रमशः रजत र कांस्य जिते।

खुल्ला पुरुषतर्फ गौरव तण्डुकर ११ मिनेट ४७ सेकेण्डमा पहिलो, प्रमेश मालाकर दोस्रो (११:४८) र हिमेश शाक्य (१२:३३) तेस्रो भए। खुल्ला महिलातर्फ सबिना विष्टले १४ मिनेट २६ सेकेण्डको समयसहित स्वर्ण पदक हात पारिन्, जसमा सुनिता राई रजत र बिभा गुरुङ कांस्य पदक जित्न सफल भए।

श्री वीरेन्द्रराज बज्राचार्यले सबै प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा छिटो फिनिस टाइम राख्दै समग्रमा प्रथम स्थान हासिल गरे।

कार्यक्रमका संयोजक प्रकाश ज्योति बज्राचार्यले भने, ‘यो त सुरुवात मात्र हो, र हामी भविष्यमा अझ ठूला र राम्रो कार्यक्रमहरू आयोजना गर्न तत्पर छौं।’

त्यस्तै हामी छौं समाज नेपाल का अध्यक्ष राजाराम कपालीले भने, ‘यो कार्यक्रमले स्वस्थ, थप एकताबद्ध र सामाजिक रूपमा जिम्मेवार समुदाय निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले कार्यक्रमको प्रशंसा गर्दै यस्ता अर्थपूर्ण समुदाय-संचालित गतिविधिहरूको निरन्तरतामा जोड दिए।

यसै अवसरमा, पहिलो कपिलवस्तु आइरनम्यान तथा वुमेन नेसनल स्ट्रेन्थ लिफ्टिङ र आईबीपी च्याम्पियनसिप– २०८२ मा स्वर्ण पदक र एनबीएम पावरलिफ्टिङ २०८१ मा रजत पदक विजेता श्री उपान्त्य महर्जनलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन मल्टिप्रेनर शिलु अधिकारीले गरेकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!