बिहिबार, १४ मे २०२६

बीपी राजमार्ग अब दैनिक १२ घण्टा ठप्प

News Image
• • •

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि काभ्रेको भकुण्डेबेंसीसम्मको सडक खण्ड साँझमा ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपीमा रोक लगाइएको जनाएको छ। सो समयको यात्रामा जोखिम हुने भएको भन्दै प्रशासनले यातायात सञ्चालनमा रोक लगाएको हो।

सो अवधि बाहेक पनि पानी पर्ने बित्तिकै रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सोमबार राति रोशीखोलामा आएको बाढीमा ५ वटा माइक्रो बस र बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए। ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले यात्रुहरूको जिउ धनलाई समेत खतरा पुर्‍याई सवारी चलाएको भन्दै ती ५ वटा माइक्रोबसका ५ जना चालकहरूलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

बर्सातको समयमा बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्व जानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात् गरी यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक अनुरोध समेत गरेको छ।

गएको वर्षामा रोशीखोलाले बगाएको बीपी राजमार्ग पुनर्निर्माण नहुँदा खोलाबाटै यातायात सञ्चालन हुँदै आएको छ। खोलामा बाढी आउने बित्तिकै सडक अवरुद्ध हुने गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!