सोमबार, १५ जुन २०२६

उर्लाबारीको बक्राहा खोला किनारमा महिलाको शव फेला

तेजन खड्का

तेजन खड्का

विराटनगर
News Image
• • •

मोरङको बक्राहा खोला किनारमा मंगलबार बिहान एक जना महिलाको शव फेला परेको छ।

उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिजनजिक काँसघारीमा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए।

उनका अनुसार उक्त शव ४ दिनदेखि हराइरहेकी उर्लाबारी–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको हो। उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी सविता जेठ ९ गते शनिबारदेखि हराइरहेकी थिइन्। स्थानीयले राँगा चराउन जाँदा बक्राहा खोला किनारको काँसघारीमा शव देखेपछि बिहान ७ः४० बजेतिर प्रहरीलाई खबर गरेका थिए।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वली नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार शव सुन्निएको र घोप्टो परेको अवस्थामा छ। मृतकको सनाखत उनले लगाएका कपडाको आधारमा श्रीमान दिलबहादुर लिम्बूले गरिदिएका हुन्।

घटनाका बारेमा माइती पक्षलाई पनि जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। तेह्रथुममा रहेका माइती पक्षले आफूहरू आइनपुगेसम्म शव नचलाउन प्रहरीलाई आग्रह गरेका छन्। 

‘अहिले शव घटनास्थलमै छ। माइती पक्ष आइपुगेपछि थप कानुनी प्रक्रिया अघि बढाइने छ,’ डीएसपी श्रेष्ठले भने, ‘अहिलेसम्म महिलाको मृत्युको कारण यकिन भइसकेको छैन। थप अनुसन्धानपछि घटनाको वास्तविक कारण पत्ता लाग्छ।’

घटनास्थल उर्लाबारी चोकबाट करिब ७ किलोमिटर उत्तर–पश्चिममा पर्छ। मृतक सविता गत शनिबार बिहान ९ बजेतिर परिवारका सदस्यलाई जानकारी नदिइकन घर छाडेर हिँडेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!