तेजन खड्का
संयोग पनि कस्तो! झट्ट सुन्दा तपाईंलाई पत्याउन गाह्रो पर्न सक्छ, तपाईं पत्याउनुस् वा नपत्याउनुस् मोरङको सुन्दरहरैंचा नगरपालिका–११, कर्जुना गाउँ एक दुःखद् घटनाले शोकमग्न बनेको छ।
स्थानीय ६५ वर्षीय नन्दलाल कार्की र उनकी धर्मपत्नी बिमला कार्कीको एकै दिन निधन भएपछि परिवार, आफन्त तथा गाउँबासीहरू स्तब्ध बनेका मात्र छैनन्, अचम्मित पनि भएका छन्।
लामो समयदेखि सुख–दुःखका सहयात्री बनेका दम्पतीको एकै दिन संसारबाट बिदाइ हुनु गाउँका लागि भावुक र हृदयविदारक घटना बनेको छ।
परिवारका सदस्यका अनुसार नन्दलाल कार्की जेठ १४ गते अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको थियो। घरपरिवारका सदस्यहरू अस्पताल र घरको दौडधुपमा व्यस्त रहेका बेला अर्को अप्रत्याशित घटना घट्यो।
उता घरमै रहेकी उनकी श्रीमती बिमला कार्की जेठ १४ गते राति सामान्य रूपमा खाना खाएर सुतेकी थिइन्। परिवारका सदस्यहरूले उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताएका छन्। तर जेठ १५ गते बिहान उठाउन जाँदा उनी आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परिन्। एक्कासी भएको घटनाले परिवार स्तब्ध बन्यो। श्रीमान् अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका बेला श्रीमतीको निधन भएको खबरले आफन्तहरूलाई थप पीडा थप्यो।
श्रीमतीको निधनको खबरले परिवार शोकमा डुबिरहेका बेला सोही दिन राति करिब १० बजे उपचाररत नन्दलाल कार्कीको पनि निधन भयो। केही घण्टाको अन्तरालमा दुवै जनाको निधन भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।
स्थानीयवासीहरूका अनुसार नन्दलाल र बिमला कार्की गाउँमा मिलनसार, सहयोगी र सामाजिक स्वभावका दम्पतीका रूपमा परिचित थिए। उनीहरू वर्षौंदेखि गाउँ समाजमा सक्रिय रहँदै आएका थिए। दुवैले जीवनभर परिवारको पालनपोषण, सामाजिक सम्बन्ध र समुदायप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएका थिए। उनीहरूको निधनले गाउँलेहरूले असल अभिभावक र छिमेकी गुमाएको महसुस गरेका छन्।
कार्की दम्पतीका दुई छोरा र दुई छोरी छन्। आमाबुबाको एकै दिन निधन भएपछि सन्तानहरू गहिरो शोकमा परेका छन्। परिवारका सदस्यहरूका अनुसार दुवै जनाले जीवनभर परिवारलाई एकताबद्ध राख्न महत्वपूर्ण भूमिका खेलेका थिए। वृद्धावस्थामा समेत उनीहरू एकअर्काको सहारा बनेर जीवन बिताइरहेका थिए।
गाउँका ज्येष्ठ नागरिकहरूका अनुसार लामो वैवाहिक जीवन बिताएका दम्पतीको एकै दिन निधन हुनु विरलै सुनिने घटना हो। धेरैले यसलाई भावनात्मक रूपमा ‘जीवनभर सँगै रहेका दुई आत्माको एकै दिन बिदाइ’का रूपमा व्याख्या गरेका छन्। घटनापछि कार्की परिवारप्रति समवेदना व्यक्त गर्न आफन्त, छिमेकी तथा शुभेच्छुकहरूको घरमा बाक्लो उपस्थिति रहेको छ।
कार्की दम्पतीको पार्थिव शरीरको आज लोहन्द्रा खोलास्थित लोहित गंगा घाटमा अन्त्येष्टि गरिने जनाइएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीयवासी, आफन्तजन तथा शुभेच्छुकहरू घाटमा उपस्थित हुने तयारी गरिएको छ।
एकै दिन श्रीमान्–श्रीमतीको निधन भएको यो घटनाले कर्जुना गाउँ मात्र होइन, समग्र सुन्दरहरैंचा क्षेत्रलाई भावुक बनाएको छ। कार्की दम्पतीको आत्माको चिरशान्तिको कामना गर्दै स्थानीयवासीहरूले परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया