तेजन खड्का
मोरङ–झापा सीमामा पर्ने दमक–१० सेतुमारीस्थित रतुवा खोलामा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक झापाको दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा तिवारी (रमा तिवारी) रहेको पुष्टि भएको हो।
शनिबार बिहान स्थानीयवासीले रतुवा खोलाको बीच भागमा बोराभित्र शव बगाएको देखेका थिए। स्थानीयले घटना शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेपछि घटना अनुसन्धानको दायरामा आएको थियो। इलाका प्रहरी कार्यालय दमक र सम्बन्धित सुरक्षा निकायको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा शव खोलाबाट बाहिर निकालेको थियो।
यकिन नभए पनि प्रहरीका अनुसार शव केही समयदेखि पानीमा रहेको देखिएको थियो। यद्यपि सो बोरामा देखिएको वस्तु मानिसको शव भएको पुष्टि भएको थियो।
घटनाको वास्तविक कारण भने खुलिसकेको छैन। घटनास्थलमा प्रारम्भिक अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरेपछि शव पहिचानका लागि राखिएको थियो। त्यसपछि मृतकका बुबा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नी छोरी भएको पुष्टि गरेका हुन्। मृतकको हातको ट्याटुका आधारमा शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र बहादुर खड्काले बीएल नेपाली सेवालाई जानकारी दिए।
उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं। अनुसन्धानपछि थप रहस्य खुल्ने छ।’
घटना के हो?
मृतक रमा तिवारी जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारले उनी घर नफर्किएपछि खोजी गरिरहेको अवस्थामा रतुवा खोलामा शव फेला परेको हो।
घटनापछि प्रहरी टोलीले युवतीको मृत्युका सबै सम्भावित पक्षबारे अनुसन्धान अघि बढाएको छ। उनी आफैं खोलामा पुगेकी थिइन् वा अन्य कुनै कारणले त्यहाँ पुगिन् भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा रहेको छ।
साथै, मृत्युको घटना कसले घटायो वा अन्य कुनै आपराधिक घटनासँग सम्बन्धित हो कि भन्ने विषयमा पनि प्रहरीले गहिरो अनुसन्धान भइरहेको जनाएको छ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन आएपछि मृत्युको कारणबारे थप स्पष्ट हुने प्रहरीको विश्वास छ।
हालसम्म प्राप्त तथ्यअनुसार युवतीको शव रतुवा खोलामा फेला परेको पुष्टि भए पनि उनी कसरी त्यहाँ पुगिन् र मृत्यु कसरी भयो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया