तेजन खड्का
दमककी २१ वर्षीया रमा रोमा तिवारीको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र प्रहरी सम्भावित हत्यारासम्म पुग्ने अन्तिम चरणमा रहेको बताएको छ।
शव फेला परेको केही दिनमै अनुसन्धानले निर्णायक मोड लिएको भन्दै प्रहरीले अब पक्राउ प्रक्रिया नजिक पुगेको संकेत दिएको हो।
झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनाको अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ।
उनले अनुसन्धानको संवेदनशीलताका कारण सबै विवरण सार्वजनिक गर्न नमिल्ने बताए पनि संलग्न व्यक्तिको पहिचान भइसकेको जानकारी दिए।
'अनुसन्धानका क्रममा महत्वपूर्ण तथ्य र प्रमाणहरू प्राप्त भएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र प्रहरी टोली त्यस व्यक्तिसम्म पुग्ने क्रममा छ', डीएसपी खड्काले भने, 'अनुसन्धानलाई असर पर्ने भएकाले अहिले थप विवरण खुलाउन सकिने अवस्था छैन।'
प्रहरीका अनुसार शव फेला परेको भोलिपल्ट परिवारले सनाखत गरेपछि अनुसन्धानले स्पष्ट दिशा लिएको थियो।
दमक–८ बसन्तटोल निवासी नारायण तिवारीकी छोरी रमा जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी परिवारको सम्पर्कमा आएकी थिइनन्।
परिवारले खोजी गरिरहेकै बेला शनिबार बिहान दमक–१० स्थित सेतुमारी क्षेत्रमा रतुवा खोलाको पुलमुनि उनको शव फेला परेको थियो।
शव भेटिएको अवस्था नै शंकास्पद थियो। प्रहरीका अनुसार युवतीको शव सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा खोलामा फेला परेको थियो। बोराको केही भाग फुटेका कारण कपाल र हात बाहिर देखिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलको प्रारम्भिक अनुसन्धान, शवको अवस्था र संकलित प्रमाणका आधारमा युवतीको हत्या अन्यत्र गरेर शव खोलामा ल्याएर फालिएको हुनसक्ने प्रहरीको निष्कर्ष छ।
शव बगेर आएको भन्दा पनि पुलमाथिबाट खोलामा फालिएको सम्भावना बलियो देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।
प्रहरी स्रोतका अनुसार मृतकको घाँटीमा कसिएको जस्तो स्पष्ट चिन्ह भेटिएको छ। त्यसका आधारमा पाइप वा यस्तै कुनै वस्तुले घाँटी कसेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।
यद्यपि, मृत्युको यकिन कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको पछिल्लो गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू, मोबाइल फोनको विवरण, भेटघाट र आवतजावतको अवस्थाबारे समेत सूक्ष्म अध्ययन गरिरहेको छ। विशेषगरी उनी घरबाट निस्किएपछि कसको सम्पर्कमा पुगिन्, अन्तिम पटक कहाँ देखिइन् र कससँग भेटघाट भयो भन्ने विषय अनुसन्धानको केन्द्रमा रहेको बताइएको छ।
प्रहरीले घटनासँग सम्बन्धित विभिन्न व्यक्तिसँग सोधपुछ गर्नुका साथै प्राविधिक प्रमाणहरूको विश्लेषणसमेत गरिरहेको छ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार घटनामा नजिकका व्यक्तिहरूको भूमिका हुनसक्ने कोणबाट समेत अनुसन्धान अघि बढाइएको छ।
रमाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन आएपछि हत्या कसरी भयो, मृत्यु कहिले भयो र घटनाका अन्य महत्वपूर्ण पक्षबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
यो घटनाले दमकसहित झापा जिल्लाभर व्यापक चासो र त्रास सिर्जना गरेको छ। खुला रूपमा हिँडडुल गरिरहेकी युवती अचानक सम्पर्कविहीन हुनु र केही दिनपछि बोराभित्र शव फेला पर्नुले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग भइरहेको छ।
प्रहरीले भने अनुसन्धान अन्तिम चरणतर्फ उन्मुख रहेको जनाएको छ। डीएसपी खड्काले घटनाको रहस्य खुल्ने दिशामा अनुसन्धान अघि बढेको बताउँदै केही महत्वपूर्ण प्रमाण र तथ्यका आधारमा प्रहरीले हत्याराको पहिचान गरिसकेको जानकारी दिए।
घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ। अनुसन्धान टोली त्यस व्यक्तिसम्म पुगिसकेको अवस्था छ। चाँडै नै घटनाबारे थप तथ्य सार्वजनिक हुनेछन्, उनले भने।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया