सोमबार, १५ जुन २०२६

नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्छ– रवि लामिछाने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाल र भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्। 

भारतीय सञ्चारमाध्यममा प्रकाशित एक विस्तृत लेखमार्फत उनले दुई देशबीचको सम्बन्धलाई परम्परागत राजनीतिक र भू–राजनीतिक बहसभन्दा माथि उठाएर विकास, व्यापार, लगानी र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका हुन्। 

लामिछानेले नेपालमा पछिल्ला वर्षहरूमा भएको राजनीतिक परिवर्तनलाई 'मतपेटिका क्रान्ति' को संज्ञा दिँदै लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ पुस्ताको नेतृत्व स्थापित भएको उल्लेख गरेका छन्। 

उनले रास्वपाले प्राप्त गरेको जनादेश परिवर्तनको पक्षमा जनताको स्पष्ट सन्देश भएको दाबी गरेका छन्।

लेखमा उनले नेपाल र भारतबीच रेल, हवाई सेवा, ऊर्जा, सूचना प्रविधि, पर्यटन र शिक्षाजस्ता क्षेत्रमा व्यापक सहकार्यको सम्भावना औंल्याएका छन्।

प्रस्तावित रक्सौल र काठमाडौं रेलमार्ग निर्माणले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक गतिविधिमा ऐतिहासिक परिवर्तन ल्याउने उनको भनाइ छ।

लामिछानेले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म प्रत्यक्ष उडान सञ्चालन गर्नुपर्ने, काठमाडौं र बेङ्गलुरू डिजिटल करिडोर निर्माण गर्नुपर्ने तथा नेपालमा 'आइआइटी' र 'एआइआइएमएस' 
जस्ता प्रतिष्ठित भारतीय शैक्षिक संस्थाहरू विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।

नेपाल र भारत सम्बन्धलाई विकास कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले नेपालको जलविद्युत् सम्भावना भारतको ऊर्जा सुरक्षासँग जोडिएको बताएका छन्। 

सीमापार व्यापार सहज बनाउन आधुनिक पूर्वाधार, डिजिटाइज्ड एकीकृत जाँच चौकी (आइसीपी) र उन्नत पारवहन प्रणालीको आवश्यकता रहेको उनको धारणा छ।

लामिछानेले नेपाल र भारतबीच रहेका विवादहरूलाई ऐतिहासिक तथ्य, प्रमाण र संवादका आधारमा समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले अतिराष्ट्रवादी भाषणभन्दा व्यावहारिक संवाद र पारस्परिक विश्वासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

लेखको अन्त्यमा उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा व्यक्त गरेको ‘सीमा अवरोध होइन, पुल बन्नुपर्छ’ भन्ने अवधारणालाई स्मरण गर्दै नेपाल र भारत सम्बन्धलाई विगतका विवादभन्दा भविष्यका सम्भावनाले परिभाषित गर्नुपर्ने बताएका छन्।

लामिछानेले वर्तमान समयलाई नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने दशकौंयताकै सबैभन्दा उपयुक्त अवसर भएको उल्लेख गर्दै दुवै देशले विश्वास, पारदर्शिता र विकासमा आधारित साझेदारी निर्माण गर्नुपर्ने बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!