आइतबार, ०७ जुन २०२६

एक महिनादेखि हराएका सशस्त्रका असई युवतीसहित झुण्डिएको अवस्थामा मृत फेला

News Image
• • •

एक महिनादेखि हराइरहेका सशस्त्र प्रहरी बलका असई शक्ति राम युवतीसँग झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

पर्साको बहुदरमाई–८ रामनगरी घर भएका राम र कैलालीको घोडाघोडी नगरपालिका–१ कि २६ वर्षीया शर्मिला चौधरी काभ्रेको पाँचखाल नगरपालिका–३ मा रहेको ठुली सामुदायिक वनमा मौवाको रुखमा सँगै झुण्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेलका अनुसार शक्ति राम सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखाल दरबन्दीमा थिए।

घटना केही दिनअघिकै रहेको प्रहरीले जनाएको छ। सलको पासो लगाइ झुण्डिएका उनीहरूको शव सडिसकेको भेटिएको छ। शव सडेर टाउको पासोमै झुण्डिएको र शरीरको भाग चुँडिएर जमिनमा खसेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार वन समितिले सल्लाको खोटो संकलन गर्न वनको अनुगमन गर्ने क्रममा शव देखेपछि खबर गरेका थिए। उनीहरूले लगाएको कपडा तथा साथमा बरामद अन्य कागजात मार्फत परिवार र नजिकका मान्छेहरूबाट शवको पहिचान खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुवैजनाको शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाइएको छ।

उनीहरू बेपत्ता भएपछि दुवै पक्षका परिवारहरूले प्रहरीमा खोजतलासको लागि निवेदनसमेत दिएका थिए।

शर्मिलाको भाई रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए। उनी वैशाख १८ गते नै काभ्रेपलाञ्चोकमा रहेका  शक्ति रामलाई भेट्न जान्छु भनी हिंडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शक्ति राम वैशाख १९ गतेबाट लागू हुनेगरी २ दिने बिदामा निस्किएको खुलेको छ। सम्पर्कविहीन भएपछि शक्तिरामको परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा खोजतलासको लागि निवेदन दिएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!