सोमबार, २० जुलाई २०२६

वैवाहिक बलात्कारको मुद्धापछि झनै तनावपूर्ण बनेको थियो ‘नेपाली ब्रो’ र ईश्वरीबीचको सम्बन्ध!

News Image
• • •

सामाजिक सञ्जाल र खेलकुद क्षेत्रमा ‘नेपाली ब्रो’का नामले परिचित कुमार थापामगर र उनकी पत्नी ईश्वरीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

प्रारम्भिक अनुसन्धानले देखाएको चित्र केवल एउटा हत्याको घटनामात्र नभई वर्षौंदेखि बढ्दै गएको वैवाहिक विवाद, घरेलु हिंसा र कानुनी लडाइँको दुःखद अन्त्यजस्तो देखिएको छ।

प्रहरीका अनुसार ईश्वरीले केही समयअघि कुमार थापाविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गराएकी थिइन्। अनुसन्धानपछि उक्त मुद्धा अदालतसम्म पुगेको थियो र त्यसको सुनुवाइ प्रक्रिया जारी नै थियो। यही मुद्धाले दुवैबीचको सम्बन्धलाई झन् चिस्याएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।

यतिमात्र होइन, दम्पतीबीच बढ्दो विवादका कारण घरेलु हिंसासम्बन्धी उजुरीहरू समेत प्रहरीकहाँ पुग्ने गरेका थिए। कहिले छलफल, कहिले मेलमिलापका प्रयास भए पनि सम्बन्धमा देखिएको दरार भने मेटिन सकेन।

भदौ २३ गते प्रहरीले दुवै पक्षलाई बोलाएर शान्ति सुरक्षासम्बन्धी छलफल गराएको र त्यसबेला मिलापत्र समेत भएको बताइएको छ।
तर, बाहिरबाट मिलापत्र देखिए पनि भित्रभित्रै सम्बन्धको तनाव बढिरहेको थियो। त्यसको भयावह परिणाम भदौ महिनाको एक रात देखियो।

प्रहरी अनुसन्धानअनुसार कार्यालयबाट स्कुटरमा घर फर्किरहेकी ईश्वरीलाई राति करिब १० बजेर १० मिनेटमा बाटो ढुकेर बसेका कुमारले आक्रमण गरेका थिए। घटनामा चक्कु मात्र होइन, इट्टा, ढुङ्गा र फलामको रड समेत प्रयोग भएको खुलेको छ।

आक्रमण यति क्रूर थियो कि गम्भीर घाइते भएकी ईश्वरीलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि पक्राउ परेका कुमार थापा पूर्व सैनिकसमेत रहेको खुलेको छ। सेनाको जागिर छाडेपछि उनी खेलकुद क्षेत्रमा सक्रिय भएका थिए र ‘नेपाली ब्रो’ नामबाट परिचित बनेका थिए।

प्रहरीले हत्यामा प्रयोग भएको चक्कु बरामद गरिसकेको छ। यद्यपि घटनास्थलमा कुमार एक्लै देखिए पनि अन्य व्यक्तिको कुनै भूमिका छ कि भन्ने कोणबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

एक समय परिवार बचाउन प्रहरी कार्यालय र अदालतका ढोका धाइरहेका यी दुईजनाको सम्बन्ध अन्ततः हत्या जस्तो दुःखद् घटनामा टुंगिएको छ।

अहिले यो घटनाले घरेलु हिंसा, वैवाहिक सम्बन्धमा बढ्दो तनाव र त्यसका गम्भीर परिणामबारे फेरि एकपटक समाजको ध्यान खिचेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!