तेजन खड्का
कहिलेकाहिँ जीवनका सबैभन्दा सुन्दर कथाहरू संघर्षका सबैभन्दा कठिन पानाबाट प्रारम्भ हुन्छन् । सफलता देखिन्छ, तर त्यसको पछाडि लुकेका आँसु, अभाव, एक्लोपन तथा असंख्य असफलताका कथा प्रायः ओझेलमै पर्छन् ।
नेपाली फिल्म ‘लुट’ की ‘पुतली’ भनेर चिनिने अभिनेत्री सिर्जना सुब्बाको कथा पनि यस्तै हो । पर्दामा दर्शकले देखेको मुस्कान तथा सफलताको चमकभन्दा धेरै ठूलो छ उनको संघर्षको यात्रा । एउटा सामान्य किसान परिवारकी छोरी, जसले गाउँको माटोबाट राजधानीसम्मको यात्रा तय गरिन्, अनिश्चित भविष्यसँग जुधिन्, असफलता भोगिन्, अनेक काम गरिन् र अन्ततः नेपाली रंगमञ्च तथा फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् ।
आज सिर्जना सुब्बालाई धेरैले ‘लुट’ की पुतलीका रूपमा चिन्छन् । कतिपयले अन्तर्राष्ट्रिय अवार्ड जित्ने अभिनेत्रीका रूपमा सम्झन्छन् । तर उनको सफलताको जगमा थुप्रै पीडा, त्याग तथा मेहनतका ईँटाहरू जोडिएका छन् ।
मोरङको उर्लाबारी (साबिक राजघाट, डाँडाटोल) मा कृषक परिवारमा जन्मिएकी सिर्जनाको बाल्यकाल सामान्य थियो । उनी धनी परिवारकी थिइनन्, तर अभावले थिचिएको जीवन पनि थिएन । किसान बा–आमाले ढिला–चाँडो भए पनि आवश्यकताहरू पूरा गरिदिन्थे । गाउँको खुला वातावरण, खेत–बारी, साथीभाइ तथा पारिवारिक माया–ममताबीच उनको बाल्यकाल बित्यो ।
त्यतिबेला मनोरञ्जनका साधन सीमित थिए । छिमेकी गाउँमा एक रुपैयाँ तिरेर टेलिभिजनमा फिल्म हेर्न जाने दिनहरू अझै उनको स्मृतिमा ताजा छन् । पछि गाउँमा बिजुली पुगेपछि घर मै टेलिभिजन आयो र फिल्मप्रतिको मोह झन् बढ्दै गयो।
सिर्जनाको परिवारमा सांगीतिक माहोल पनि थियो । तिहारमा देउसी–भैलोको अभ्यास प्रायः उनकै घरमा हुन्थ्यो । काका र फुपूहरूको नाचगान हेर्दै गर्दा उनी पनि संगीत र कलाप्रति आकर्षित भइन् । त्यही वातावरणले उनको मनमा कलाकार बन्ने बीउ रोपिदियो।
गाउँमै पहिलो पटक नाटक देखेपछि उनको कल्पनाले झन् ठूलो आकार लिन थाल्यो । कान्छो काकाले लेखेको अनि निर्देशन गरेको नाटक बारम्बार हेर्दा उनलाई पनि एक दिन पर्दामा देखिने रहर जाग्यो । उनी त्यतिबेला सायद बुझ्दिन थिइन्, त्यो सानो चाहनाले एक दिन उनको जीवनको दिशा नै बदल्ने छ।
समय बित्दै गयो । किशोरावस्थामा पुगेपछि जीवनका नयाँ सपना जन्मिन थाले। त्यतिबेला विदेश जाने लहर बढिरहेको थियो। गाउँका धेरै युवा–युवती कामका लागि विदेश जान थालेका थिए । सिर्जनाले पनि विदेश जाने योजना बनाइन् । तर भाग्यले उनको लागि अर्को बाटो तयार गरिरहेको थियो ।
एसएलसी जीवनको पहिलो ठूलो परीक्षा थियो । धेरै मेहनत गरेकी उनी दुई विषयमा असफल भइन् । त्यो असफलताले उनको आत्म–सम्मानमा गहिरो चोट पुर्यायो। उनले मौका परीक्षा दिनुभन्दा पुनः कक्षा १० दोहोर्याउने निर्णय गरिन् । हार स्वीकार नगर्ने उनको स्वभाव त्यहीँबाट देखिन्थ्यो।
पुनः अध्ययन गरेर एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आइन्। बाहिर हेर्दा विदेश जाने वहाना थियो, तर भित्र–भित्रै उनको मनमा एउटामात्र सपना थियो–अनिभेत्री बन्ने।
२०६२ सालको काठमाडौं उनको लागि अपरिचित शहर थियो। चिनजानका मान्छे कम थिए। भविष्य अनिश्चित थियो। तर सपनाले उनलाई डराउन दिएन ।
मामा–माइजूको घरमा बसेर उनले एउटा अफिसमा रिसेप्सनिस्टको जागिर प्राम्भ गरिन्। दिनभर काम गर्थिन्। शहर चिन्न सिक्थिन् । नयाँ जीवनमा आफूलाई अभ्यस्त बनाउँदै गइन्।
यही क्रममा उनको जीवनमा एउटा मोड आयो । साथीको आग्रहमा उनी ‘मिस्टर एण्ड मिस ओमकार’ प्रतियोगितामा सहभागी भइन् । मोडलिङबारे खासै ज्ञान थिएन । र्याम्प के हो ? भन्ने समेत थाहा थिएन । तर सिक्ने उत्साह थियो ।
एक महिनाको अभ्यासपछि उनी प्रतियोगितामा सहभागी भइन् र सेकेण्ड रनर्सअप बन्न सफल भइन् । त्यो जीत पुरस्कार मात्र थिएन, आत्मविश्वासको जन्म भएको थियो ।
त्यसपछि उनले नृत्य सिक्न थालिन् । बागबजारको एउटा इन्स्टिच्युटमा भर्ना भइन् । गाउँमा नाचेको अनुभव भएकाले छिट्टै प्रशिक्षकहरूको विश्वास (मन) जितिन् । केही महिनामै प्रशिक्षकको जिम्मेवारी पाउन सफल भइन् ।
यसले उनको आर्थिक समस्या पनि केही हदसम्म हल गर्यो । शुल्क तिर्नु परेन । उल्टै आम्दानी हुन थाल्यो । तर सपना अझै अधूरो थियो । उनी अभिनेत्री बन्न चाहन्थिन् ।
यही क्रममा लेखक तथा कलाकार लोकेन्द्र लेखकले उनलाई नाटकमा अभिनयको प्रस्ताव गरे । प्राम्भमा उनले नाटकको महत्व बुझिनन् । पोखरा घुम्न पाइन्छ भन्ने लोभमा प्रस्ताव स्वीकार गरिन् ।
तर त्यहस् निर्णय उनको जीवनको सबैभन्दा महत्वपूर्ण निर्णयमध्ये एक बन्यो ।
‘मैना’ नामक नाटकमा अभिनय गरेकी सिर्जनाले पहिलो प्रयासमै उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । नाटक पनि उत्कृष्ट घोषित भयो ।
त्यो अवार्डसँगै आएको १५ हजार रुपैयाँभन्दा ठूलो कुरा थियो,आफूमाथिको विश्वास । पत्रिकामा आफ्नो तस्विर छापिएको देख्दा उनले पहिलो पटक महसुस गरिन्, आफू सही बाटोमा छु ।
त्यसपछि अभिनय उनको रहर मात्र रहेन, जीवनको लक्ष्य बन्यो । रंगकर्मीहरूको सल्लाहमा उनी एक्टर्स स्टुडियोमा भर्ना भइन् । त्यहाँ उनले अभिनयलाई व्यवस्थित रूपमा सिक्ने अवसर पाइन् । त्यहीँ उनको भेट दयाहाङ राईलगायतका कलाकारहरूसँग भयो ।
रंगमञ्चले उनको जीवन बदल्न थाल्यो ।
थिएटर अभिनय सिक्ने ठाउँ मात्र थिएन । त्यो जीवन बुझ्ने विद्यालय थियो ।
नाटकका क्रममा उनले समाजका अनेक पात्रहरू बाँचिन् । पीडा, प्रेम, विद्रोह, अन्याय अनि संघर्षका कथाहरू आफूभित्र महसुस गरिन् । यसले उनको अभिनयलाई गहिराइ दियो।
तर अभिनय सिक्दैमा जीवन चल्दैनथ्यो । काठमाडौंमा एक्लै बस्ने युवतीका लागि आर्थिक चुनौती ठूलो थियो। उनले एकै पटक तीनवटा विद्यालयमा नृत्य प्रशिक्षकको काम गरिन्। सडक नाटक खेलिन् । रेडियो नाटक गरिन्। साना–ठूला कार्यक्रमहरूमा सहभागी भइन्।
दिनभर काम, साँझ रिहर्सल र राति भविष्यका सपना। यही संघर्षले उनलाई बलियो बनायो।
यसैबीच, नेपाल टेलिभिजनको ‘सुपर एक्टिङ’ कार्यक्रममा सहभागी हुने अवसर आयो। कार्यक्रम बीचमै रोकिए पनि उनको प्रतिभाले फिल्मकर्मीहरूको ध्यान तान्यो।
त्यसपछि उनले ‘आवाज’ फिल्ममा अभिनय गर्ने अवसर पाइन् । भूमिका ठूलो थियो । मेहनत पनि धेरै गरिन्। तर दर्शकले खासै याद गरेनन्।
धेरै कलाकारहरू त्यहीँ निराश हुन्थे। धेरैले सपना त्याग्थे। तर सिर्जनाले हार मानिनन् । उनलाई थाहा थियो, सफलता एकैपटक आउँदैन।
संघर्षको यात्रा जारी रह्यो । यही क्रममा ‘लुट’ फिल्मको प्रस्ताव आयो। त्यतिबेला उनलाई दिइएको पात्रको नाम नै थिएन । केवल हाकुकी श्रीमती। तर उनले भूमिका सानो भनेर अस्वीकार गरिनन्।
सुटिङका क्रममा सौगात मल्लले उनको पात्रको नाम ‘पुतली’ राखिदिए। सायद त्यतिबेला कसैले कल्पना गरेको थिएन कि यही नामले सिर्जनालाई घर–घरमा चिनाउने छ।
फिल्म प्रदर्शन भयो। ‘लुट’ नेपाली फिल्म इतिहासकै एउटा महत्वपूर्ण फिल्म बन्यो । हाकु र पुतलीका संवादहरू चर्चित भए। जोक्स बने। दर्शकले मन पराए।
सिर्जना एकाएक चर्चामा आइन्। तर त्यो सफलता आकस्मिक थिएन। त्यसको पछाडि वर्षौंको संघर्ष थियो। ‘लुट’ पछि पनि उनी नाटकबाट टाढिइनन् । बरु रंगमञ्चलाई अझ मजबुत बनाउन दयाहाङ राईसहितको टोलीसँग मिलेर मण्डला थिएटर स्थापना गरिन्।
आज मण्डला नेपाली रंगमञ्चको महत्वपूर्ण संस्था बनेको छ। सयौँ कलाकार उत्पादन गरेको यो संस्थाको निर्माणमा सिर्जनाको योगदान पनि उत्तिकै महत्वपूर्ण छ।
समयसँगै उनको अभिनय झन् परिपक्व बन्दै गयो।
२०७३ सालमा ‘द डाइङ क्यान्डल’ फिल्ममा उनले पहिलो पटक केन्द्रीय अभिनेत्रीको भूमिका पाइन्। यो फिल्म उनको करियरको टर्निङ प्वाइन्ट बन्यो।
छायांकनका क्रममा अनेक चुनौती आए। निर्देशकसँग विचार नमिल्दा काम छोड्ने अवस्थासम्म पुगिन्। तर अन्ततः उनले धैर्य राखिन्।
त्यही धैर्यले उनलाई अन्तर्राष्ट्रिय सम्मान दिलायो । फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पायो। सिर्जनाले उत्कृष्ट अभिनेत्रीका अवार्डहरू जितिन् । विदेशी दर्शकमाझ पनि आफ्नो पहिचान स्थापित गर्न सफल भइन्।
एक समय काठमाडौंमा चिनजानको अभावमा अवसर खोज्दै हिँड्ने युवती आज अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सम्मानित कलाकार बनेकी थिइन्।
तर सफलता प्राप्त गरेपछि पनि उनी जमिन छाडेर उडिनन्। विवाह, मातृत्व तथा पारिवारिक जिम्मेवारीबीच पनि उनले अभिनयलाई निरन्तरता दिइरहेकी छिन्।
अहिले उनी अभिनेत्री मात्र होइनन्, कास्टिङ निर्देशकको भूमिकामा समेत सक्रिय छिन् । उनको यात्रा अझै जारी छ।
सिर्जना सुब्बालाई नजिकबाट नियाल्ने भन्छन्- सिर्जनाको यात्र एउटा कलाकारको सफलता होइन। यो सपना देख्ने साहसको कथा हो । असफलतासँग हार नमान्ने जिद्दीको कथा हो । संघर्षलाई शक्ति बनाउने आत्मविश्वासको हो।
गाउँकी एक साधारण किशोरीदेखि अन्तर्राष्ट्रिय अवार्ड विजेता कलाकारसम्मको यात्रा सजिलो थिएन। त्यस यात्रामा आँसु थिए, अभाव थिए, निराशा थिए । तर ती सबैभन्दा ठूलो थियो–सपना।
र अन्ततः त्यही सपनाले उनलाई ‘पुतली’ मात्र होइन, नेपाली कला क्षेत्रमा प्रेरणाको प्रतीक बनायो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया