बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकसय दिन पूरा गरिसकेको छ।
जेनजी आन्दोलनको जगमा परिवर्तनको नारासहित करिब दुईतिहाइ जनमत प्राप्त गरेको सरकारले जनतासामु गरेका बाचाहरू कति पूरा भए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो सय दिन पूरा भएसँगै कोशी प्रदेशका स्थानीयवासीले सरकारप्रति मिश्रित प्रतिक्रिया दिएका छन्।
अधिकांशले सरकारप्रति विश्वास रहेको जनाउँदै अब घोषणाभन्दा कार्यान्वयनमा प्रभावकारिता देखिनुपर्ने बताएका छन्।
विराटनगरकी स्थानीय बुद्धिमाया धिमालले सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताइन्।
‘सरकारले साना व्यवसायीका लागि पनि केही गर्ने भनेको छ। तर कार्यान्वयनको पक्ष प्रभावकारी हुनुपर्यो। सरकारले सुकुम्बासीको व्यवस्थापन नगरी बिचल्ली बनाएको छ,’ उनले प्रतिक्रियामा भनिन्।
यस्तै, विराटनगरकै स्थानीय विपना राजवंशीले महँगी बढेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन्।
‘अहिलेको सरकारले विदेश जान चाहनेहरूलाई समेत महँगीको भार थपेको अवस्था छ,’ उनले भनिन्।
धनकुटाका स्थानीय नवीनकुमार भुजेलले भने सरकारका कामलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे। अर्का स्थानीय श्रीमान कार्कीले भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि सरकारले धमाधम कारबाही गरिरहेको भन्दै सरकारको प्रशंसा गरे।
इटहरीका ईश्वरीप्रसाद ओस्तीले पनि सरकारको सय दिनको कामलाई सकारात्मक रूपमा लिन सकिने भएपनि आगामी दिनमा सरकारले कसरी काम गर्छ भन्ने कुरा अझै हेर्न बाँकी रहेको बताए।
यसैगरी, कोशी प्रदेशकै एक महत्वपूर्ण दुग्ध सहकारी संस्था कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालले सरकारले विदेशबाट आउने दुग्धजन्य सामग्रीमा प्रतिबन्ध लगाएको कदमलाई सकारात्मक बताए।
उनले कृषकमैत्री नीति तथा कार्यक्रम ल्याएर सरकारले अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने सुझाव पनि दिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया