सोमबार, २० जुलाई २०२६

चोभारको पुलमुनि ढुंगाको ओडारमा अड्किएका दुई जनाको सकुशल उद्धार

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

चोभारको पुलमुनि ढुंगाको ओडारमा अड्किएका दुई जनाको सकुशल उद्धार

ललितपुर महानगरपालिका–१८ चोभारभन्ज्याङस्थित पुलमुनिको ढुंगाको ओडारमा अड्किएका एक महिला र एक पुरुषको नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ।

साेमबार दिउँसो करिब २:४० बजे उनीहरू ओडारभित्र अड्किएको सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलको कमाण्डमा १० जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। उद्धार कार्यमा सशस्त्र प्रहरी तथा स्थानीयवासीको समेत सहयोग रहेको थियो।

प्रहरी टोली सूचना प्राप्त भएको करिब ५ मिनेटमै अर्थात् २:४५ बजे घटनास्थल पुगेको थियो। संयुक्त प्रयासपछि ३:२५ बजे दुबै जनालाई सकुशल बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये मकवानपुरको गढी नगरपालिका स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२५ बुंग्मती, अस्मिता स्कुल नजिक बस्दै आएकी ३० वर्षीया सोनी तामाङ र सिन्धुलीको दुधौली नगरपालिका–४ स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका ३० वर्षीय राज धनुवार धामी रहेका छन्। दुवै जनाको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

थप उपचारका लागि उनीहरूलाई पाटन अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल प्रहरी प्रभाग बुंग्मतीबाट करिब १.५ किलोमिटर उत्तरतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!