शनिबार, १५ अगस्ट २०२६

नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा

News Image
• • •

राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै २०८३ साल असार २९ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो। विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ।

विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ। यस्तो अवस्था नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा स्वाभाविक भएको विभागको भनाइ छ।

सम्भावित समस्यालाई ध्यानमा राख्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रही प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिरहेको जनाएको छ।

विभागले देखिएका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएको छ।

नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ।

साथै, राहदानी सेवासम्बन्धी सूचना तथा जानकारीका लागि विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन विभागले सेवाग्राहीलाई आग्रह गरेको छ।

राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!