शनिबार, ०८ अगस्ट २०२६

इन्द्रचाेकमा खालिद दिनकाे पुस्तैनी पाेते व्यवसाय

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौंको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन्। 

उनी आफूलाई इन्द्रचोकमा पोते बनाउने व्यवसायीमध्ये सबैभन्दा पूराना हुन्। 

‘सायद म नै यो ठाउँमा पोते बनाउने पुरानो व्यक्ति हुँ,’ खालिद भन्छन्, ‘म त बनाउनेमध्ये मात्रै हुँ। सामग्री बाहिरबाट ल्याउँछु। पोते, नौगेडी, छड्केलगायतका माला वा गहना बनाएर तयार गर्छौं।’

कुनै समय इन्द्रचोकमा पोते बनाउने व्यवसाय निकै राम्रो चलेको उनको अनुभव छ। पहिले यही पेसाबाट परिवार पाल्न, बालबच्चालाई पढाउन र घरखर्च चलाउन सहज हुने गरेको उनी सम्झन्छन्। तर पछिल्ला वर्षमा व्यापार घट्दै गएको उनको भनाइ छ।

‘पहिला राम्रै थियो। बालबच्चालाई पढाइयो, सबै कुरा पुग्थ्यो। अहिले भने बिहान–बेलुकाको खानलाई ठिक्क छ,’ उनले भने।

पुर्खाबाट सिकेको यही कामलाई उनले अहिलेसम्म निरन्तरता दिएका छन्। ‘बुबा–बाजेले गरेको काम यही हो, आफूले पनि यही पेसालाई निरन्तरता दिइरहेको छु। पेसा छाड्ने भनेको जीवनको अन्तिम समयमा मात्र होला,’ उनी भन्छन्।

इन्द्रचोकमा पोतेको व्यापार विशेषगरी चाडपर्वका समयमा बढ्ने गरेको उनी बताउँछन्। तीज र साउन महिनामा पोतेको माग बढी हुने भए पनि अन्य समय भने व्यापार सामान्य रहने उनको अनुभव छ।

ग्राहकको आवश्यकता र डिजाइनअनुसार पोतेको मूल्य फरक–फरक हुने गरेको छ। ‘५०–६० रुपैयाँदेखि एकसय रुपैयाँसम्मका पोते बनाउँछौं। दुईतीन सय रुपैयाँसम्मका पनि हुन्छन्। नौगेडी बनाउनुपर्यो भने चारपाँच सय रुपैयाँसम्म पर्छ,’ उनले भने।

दशकौँदेखि इन्द्रचोकको पोते व्यवसायसँग जोडिएका खालिद दिनका लागि यो केवल रोजगारी मात्र नभई पुर्खाले हस्तान्तरण गरेको पहिचान र जीवनको आधार बनेको छ।

पोते बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका खालिद दिनका छोरा जमुद्दिन पनि यही व्यवसायमा सक्रिय छन्। 

ठमेलमा जन्मिएका जमुद्दिनले सन् २००१ देखि अर्थात करिब २५ वर्षदेखि इन्द्रचोकमा पुर्खाले गरेको काम गर्दै आइरहेका छन्। 

‘बुवा पनि यही काम गर्नुहुन्थ्यो, बाजे पनि यही पेसामा हुनुहुन्थ्यो। यो हाम्रो पुख्र्यौली पेसा हो,’ जमुद्दिन भन्छन्, ‘व्यवसाय ठिकै मात्र छ। घरखर्च चलिरहेको छ, परिवार पालिएको छ।’

तर पहिलेको तुलनामा अहिले पोते व्यवसायमा कमी आएको उनको अनुभव छ। बजार परिवर्तन, सुनको मूल्य वृद्धि र रेडिमेड सामग्रीको बढ्दो प्रयोगले व्यापारमा असर परेको उनी बताउँछन्।

‘पहिला व्यापार धेरै राम्रो थियो। अहिले अलि घटेको छ। सुनको दाम बढेपछि पनि असर परेको छ,’ उनले भने।

उनका अनुसार अहिले ग्राहकले परम्परागत रूपमा बनाइने पोतेभन्दा बजारमा पाइने रेडिमेड रातो, हरियो रङका माला बढी रोज्न थालेका छन्।

‘पहिला जस्तो साउनमा धेरै व्यापार हुँदैन। अहिले रेडिमेड मालाहरू बढी जान्छ,’ उनले भने।

इन्द्रचोकमा बिक्री हुने पोतेका सामग्री विभिन्न देशबाट आउने गरेको जमुद्दिन बताउँछन्। उनका अनुसार पोते बनाउने सामग्री जापान, चेक रिपब्लिक र चीनबाट आउने गर्छ। ती सामग्री व्यापारीहरूले बाहिरबाट ठूलो परिमाणमा मगाउने गरेका छन्।

‘एक जनाले मात्रै बाहिरबाट मगाउन सक्दैनन्। चार–पाँच जना मिलेर मगाउने गर्छन्। त्यसको मूल्य र लागतबारे धेरैलाई जानकारी हुँदैन, साहूहरूलाई मात्र थाहा हुन्छ,’ उनले भने।

आफ्नो परिवारमा पुस्तौँदेखि चल्दै आएको यो पेसा अब अर्को पुस्ताले निरन्तरता दिन्छन् भन्नेमा उनी विश्वस्त छैनन्। 

‘बाजेले गर्नुभयो, बुवाले गर्दै हुनुहुन्छ, मैले गरेँ। म चौथो पुस्तामा हुँ। अब छोरा–छोरीले गर्छन् कि गर्दैनन् थाहा छैन। अहिलेको व्यापारको अवस्था त्यस्तै छ,’ जमुद्दिनले भने।

ठमेलका स्थानीय जमुद्दिनको परिवारको पुख्र्यौली सम्बन्ध पनि त्यही क्षेत्रसँग जोडिएको छ। ‘म ठमेलमै जन्मेको हुँ। वडा २६ हो, पुख्र्यौली पनि त्यहीँबाट हो,’ उनले बताए।

दशकौँदेखि इन्द्रचोकको पहिचान बनेको पोते व्यवसाय अहिले बदलिँदो बजार र उपभोक्ताको रुचिसँगै चुनौतीपूर्ण अवस्थामा पुगेको छ। 

यद्यपि खालिद दिन र जमुद्दिन जस्ता व्यवसायीहरूले परम्परागत सीपलाई अझै जोगाइरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!