बिएल संवाददाता
भारतको सर्वोच्च अदालतले कक्रोच जनता पार्टी (सीजेपी)का प्रदर्शनकारीमाथि दिल्ली प्रहरीले गरेको कारबाहीसम्बन्धी रिट निवेदनमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।
यो प्रदर्शन परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै गरिएको थियो।
बुधबार भारतका प्रधान न्यायाधीश सूर्यकान्तले एक अधिवक्ताले दायर गरेको निवेदनमाथि टिप्पणी गर्दै भने, ‘आफ्नो समय पनि खेर नफाल्नुहोस् र हाम्रो समय पनि खेर नफाल्नुहोस्।’
बार एन्ड बेन्चका अनुसार, प्रधान न्यायाधीश (सीजेआई) सूर्यकान्त, न्यायाधीश जाँयमल्या बागची र न्यायाधीश भी. मोहना सम्मिलित इजलाससमक्ष उपस्थित अधिवक्ताले उक्त मुद्दालाई भोलिपल्ट सुनुवाइका लागि सूचीबद्ध गर्न माग गरेका थिए।
अधिवक्ताले भने, ‘प्रहरीको कडाइका भिडियो प्रमाण उपलब्ध छन्। जन्तर–मन्तरमा विद्यार्थीहरूको प्रदर्शन जारी छ। प्रहरीले अत्यधिक बल प्रयोग गरिरहेको छ...’
यसमा प्रतिक्रिया दिँदै सीजेआई सूर्यकान्तले भने, ‘कृपया हाम्रो समय बर्बाद नगर्नुहोस्, आफ्नो समय पनि बर्बाद नगर्नुहोस्। तपाईंको समय हाम्रोभन्दा बढी मूल्यवान छ।’
त्यसपछि अधिवक्ताले केही महत्वपूर्ण मागहरू उठाइएको बताए। तीमध्ये नीट (NEET) परीक्षा निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने र पटक–पटक प्रश्नपत्र चुहिने घटनाका कारण राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) लाई खारेज गर्नुपर्ने माग पनि समावेश थियो।
अदालतले अर्को मुद्दाको सुनुवाइका लागि बोलाएपछि पनि अधिवक्ताले फेरि प्रदर्शनरत विद्यार्थीहरूमाथि प्रहरीले गरेको कारबाहीका भिडियो देखाउन सकिने बताए।
त्यसमा सीजेआई सूर्यकान्तले भने, ‘हामीलाई भिडियोमा कुनै रुचि छैन। हामीसँग हेर्ने समय पनि छैन।’
सूर्यकान्तकै टिप्पणीले जन्मिएको थियो सीजेपी
कक्रोच जनता पार्टी (सीजेपी)को सुरुवात व्यंग्यात्मक अनलाइन अभियानका रूपमा भएको थियो।
गत मे १५ मा भारतको सर्वोच्च अदालतमा एक मुद्दाको सुनुवाइका क्रममा मुख्य न्यायाधीश सूर्यकान्तले भनेका थिए, ‘समाजमा पहिले नै यस्ता परजीवीहरू छन्, जसले व्यवस्थामाथि आक्रमण गर्छन्। के तपाईं पनि उनीहरूसँग जोडिन चाहनुहुन्छ? केही युवाहरू रोजगारी नपाएर र आफ्नो पेशामा स्थान बनाउन नसकेपछि कक्रोच झैँ जताततै फैलिन्छन्।’
उनको उक्त टिप्पणीको व्यापक आलोचना भएको थियो। त्यसपछि मुख्य न्यायाधीश सूर्यकान्तले स्पष्टीकरण दिँदै आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको बताएका थिए।
स्पष्टीकरणमा उनले भनेका थिए, ‘मे १५ मा एउटा निरर्थक मुद्दाको सुनुवाइका क्रममा मैले गरेको मौखिक टिप्पणीलाई सञ्चारमाध्यमको एक समूहले गलत ढंगले प्रस्तुत गरेको देखेर दुःख लागेको छ। मैले विशेष रूपमा नक्कली र जाली प्रमाणपत्रका आधारमा कानुनी पेशाजस्ता क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूको आलोचना गरेको थिएँ। यस्ता मानिसहरू सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य सम्मानित पेशामा पनि प्रवेश गरेका छन्, त्यसैले उनीहरू परजीवीजस्तै हुन्।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया