शनिबार, १५ अगस्ट २०२६

ट्रम्पको प्रस्ताव नेतान्याहुद्वारा अस्वीकारः गाजाबाट सेना फिर्ता गर्न असहमत

News Image
• • •

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका छन्।

उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले इजरायल डिफेन्स फोर्स (आईडीएफ)का सैनिकहरूलाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरण गर्ने उद्देश्यसहित तथाकथित ‘बोर्ड अफ पिस’ले तयार पारेको सम्झौता सार्वजनिक गरेका थिए। उक्त प्रस्तावबारे प्रतिक्रिया दिँदै नेतन्याहुले अमेरिकाले मस्यौदा पठाएको भए पनि इजरायलले त्यसमा सहमति नजनाएको स्पष्ट पारे।

‘यो हाम्रो मस्यौदा होइन। हामीले आफ्ना टिप्पणीहरू पठाएका छौं,‘ नेतन्याहुले भने। यसअघि ट्रम्पले घोषणा गरेको सम्झौतापछि हमासले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि तयार पारिएको पछिल्लो कार्ययोजनामा सहमति जनाएको जनाएको थियो। 

तर उसले हतियार व्यवस्थापनसम्बन्धी विषयमा केही सर्त राखेको थियो। हमासले इजरायली आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने, गाजाबाट इजरायली सेना फिर्ता हुनुपर्ने र पुनर्निर्माण प्रक्रियामा ठोस प्रगति हुनुपर्ने सर्त पूरा भएपछि मात्र हतियारसम्बन्धी व्यवस्था अघि बढाउन सकिने जनाएको थियो। 

यसैबीच, पछिल्ला दिनमा गाजामा भएका इजरायली हवाई आक्रमणमा दर्जनौं मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएको छ। मारिनेमा बालबालिका र अन्य सर्वसाधारणसमेत रहेको बताइएको छ। घटनापछि गाजा युद्धविराम वार्तामा मध्यस्थता गर्दै आएका कतार, इजिप्ट र टर्कीले सोमबार संयुक्त रूपमा इजरायली आक्रमणको निन्दा गरेका छन्  

उनीहरूले युद्धविराम प्रक्रियालाई कमजोर पार्ने कुनै पनि गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

गाजामा जारी द्वन्द्व अन्त्यका लागि विभिन्न चरणमा वार्ता भइरहे पनि सेना फिर्ता, हमासको हतियार व्यवस्थापन र पुनर्निर्माणका विषयमा इजरायल र हमासबीच अझै गहिरो मतभेद कायम रहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!