सोमबार, ०७ सेप्टेम्बर २०२६

पुस्तान्तरण हुँदै आएको ‘मानसिक आघात’को चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै ३ नेपाली

News Image
• • •

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा)को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI Echo) स्थापना गरेका छन्।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव श्रेष्ठका अनुसार स्टार्टअपको अवधारणा उनीहरूको आफ्नै जीवन अनुभवबाट जन्मिएको हो। बाल्यकालमा भोगेका भावनात्मक अनुभवहरूले वयस्क जीवनका सम्बन्धमा पारेको प्रभावबारे थेरापीका क्रममा थाहा पाएपछि उनले सह–संस्थापकहरूसँग अनुभव साटेका थिए। त्यसक्रममा तीनै जनाले फरक–फरक परिस्थितिमा हुर्किए पनि समान प्रकारका भावनात्मक असर बोकेर आएको महसुस गरेका थिए।

सह–संस्थापक तथा प्रमुख बजार अधिकृत (सीएमओ) आकृश पौडेलका अनुसार बाल्यकालमा भावनात्मक रूपमा उपलब्ध नभएका अभिभावकको प्रभावले आफूले स्वस्थ सम्बन्धभन्दा परिचित लाग्ने सम्बन्ध रोज्ने प्रवृत्ति विकास गरेको रहेछ। अर्का सह–संस्थापक तथा प्रमुख विकास अधिकृत (सीजीओ) ओशनले भने सात वर्षको उमेरदेखि बोर्डिङ स्कुलमा बसेर परिवारबाट टाढा हुर्किनुपर्दा समयभन्दा अघि नै आत्मनिर्भर बन्नुपरेको अनुभव सुनाउँछन्।

संस्थापकहरूका अनुसार अधिकांश अभिभावकले आफूले पाएको भावनात्मक वातावरणकै आधारमा सन्तान हुर्काउने भएकाले थाहा नपाई त्यही व्यवहार र सोच एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ। ‘हाम्रा अभिभावकले अनजानमै हामीलाई दिएका भावनात्मक ढाँचाहरू अर्को पुस्तामा पनि दोहोरिनै पर्छ भन्ने छैन। त्यसका लागि पहिलो आवश्यकता सचेतना हो,’ उनीहरूले बताएका छन्।

यही अवधारणाका आधारमा विकास गरिएको एआई इकोले दीर्घकालीन भावनात्मक पुनःस्थापनाका लागि कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली विकास गरेको जनाएको छ। कम्पनीका अनुसार यसले प्रयोगकर्ताको दीर्घकालीन अन्तर्क्रिया, व्यक्तिगत सन्दर्भ, सुरक्षा प्रणाली तथा मनोवैज्ञानिक उपचारका स्थापित विधिहरूलाई समेटेर व्यक्तिगत भावनात्मक सहयोग उपलब्ध गराउँछ।

कम्पनीले प्रयोगकर्ताको व्यवहार र अन्तरक्रियाका आधारमा सम्बन्ध तथा लगावका ढाँचाहरू (अट्याचमेन्ट प्याटर्न) विश्लेषण गर्ने प्रणाली पनि विकास गरेको जनाएको छ। सोही आधारमा बाल्यकालका अनुभवले वयस्क सम्बन्धमा पारेको प्रभाव पहिचान गरी उपयुक्त सुझाव दिने व्यवस्था गरिएको कम्पनीको दाबी छ। साथै, सङ्कलित तथ्याङ्कका आधारमा आफ्नै ठूलो भाषा मोडेल (एलएलएम) विकास गर्ने काम पनि अघि बढिरहेको जनाएको छ।

कम्पनीका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का एक अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य अभियन्ता, अमेरिकाको ब्राउन विश्वविद्यालय तथा पेन्सिल्भेनिया विश्वविद्यालयका प्राध्यापक एवं अनुसन्धानकर्तासँग सहकार्य गरेर वैज्ञानिक प्रमाणमा आधारित एआई प्रणाली विकास भइरहेको छ।

सार्वजनिक रूपमा सेवा सुरु गरेको ४५ दिनमै एआई इकोका १५२ देशमा ४० हजारभन्दा बढी प्रयोगकर्ता पुगेका छन्। कम्पनीले वार्षिक आवर्ती आम्दानी (एआरआर) दुई लाख २० हजार अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ३ करोड ४० लाख रुपैयाँ पुगेको जनाएको छ। सामाजिक सञ्जालमा कम्पनीका एक लाखभन्दा बढी फलोअर्स रहेका छन् भने यसको अधिकांश वृद्धि शैक्षिक सामग्रीमार्फत भएको कम्पनीको दाबी छ।

संस्थापकहरूले दीर्घकालमा विश्वभरका मानिसलाई प्रमाणमा आधारित भावनात्मक सहयोग उपलब्ध गराउँदै पुस्तौँदेखि दोहोरिँदै आएको मानसिक आघातको चक्र तोड्न सहयोग गर्ने विश्वकै अग्रणी एआई प्लेटफर्म बनाउने लक्ष्य लिएको बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!