सोमबार, ०७ सेप्टेम्बर २०२६

होर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

बिएल संवाददाता

बिएल संवाददाता

न्यूयोर्क, अमेरिका
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तनाव चर्किरहेका बेला होर्मुज क्षेत्रलाई अमेरिकाको ‘भूभाग’ घोषणा गर्ने अभिव्यक्ति दिएका छन्।

शुक्रबार न्यूयोर्कमा आयोजित कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले विश्वव्यापी तेल, प्राकृतिक ग्यास र मलको आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गलाई अमेरिकाले आफ्नो भूभागका रूपमा दाबी गर्ने बताएका हुन्।

ट्रम्पले भने, ‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले निकै नराम्रोसँग पराजित भइरहेको छ, छिट्टै म होर्मुज जलमार्ग क्षेत्रलाई संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्नेछु।’

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि दुवै पक्षबीच युद्ध जारी छ। त्यसको जवाफमा इरानले होर्मुज जलमार्गबाट हुने आवागमनमा प्रतिबन्ध लगाएको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गबाट हुने गरेको थियो।

पछिल्ला महिनाहरूमा होर्मुज जलक्षेत्र आसपास फेरि सैन्य गतिविधि बढेको छ। जुन महिनामा अमेरिका र इरानले युद्धमा सैन्य कारबाही रोक्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यसको एउटा सर्त इरानले ‘व्यावसायिक जहाजहरूको सुरक्षित आवागमनका लागि सक्दो प्रयास गर्ने’ भन्ने थियो।

तर पछि दुवै पक्षले एकअर्काले उक्त समझदारी उल्लंघन गरेको आरोप लगाए र फेरि युद्ध चर्कियो।

अहिले अमेरिका र इरानबीच वार्ता जारी छ। वार्ताका कारण मध्यपूर्वमा युद्धको वेग केही घटेको भए पनि कुनै पनि पक्ष सन्तुष्ट छैन र युद्ध निर्णायक रूपमा अन्त्य हुन सकेको छैन।

होर्मुज जलक्षेत्रमा अमेरिका र इरानले छुट्टाछुट्टै नाकाबन्दी लगाएका छन्।

शुक्रबारको भाषणमा ट्रम्पले अमेरिकी नाकाबन्दीलाई तोड्न नसकिने दाबी गर्दै जलमार्गमार्फत आवागमनमा निर्भर देशहरूका लागि अमेरिकाले ठूलो सेवा गरिरहेको बताए।

उनले भने, ‘हामीले गरिरहेको काम संसारकै लागि ठूलो सेवा हो। केवल हाम्रो लागि होइन, सम्पूर्ण संसारका लागि। यो नाकाबन्दी रोक्न सकिँदैन। यो फलामको पर्खालजस्तै हो।’

ट्रम्प सन् २०२६ को मध्यावधि निर्वाचनका लागि रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न न्यूयोर्क पुगेका थिए। उक्त निर्वाचन अमेरिकी प्रशासनका लागि महत्वपूर्ण मानिएको छ, किनभने अमेरिकी संसद्‍मा रिपब्लिकनहरूको नियन्त्रण कायम रहने वा नरहने भन्ने विषयमा यसको ठूलो प्रभाव पर्नेछ।

ट्रम्पले इरानमाथि विजय हासिल गरिसकेको दाबी दोहोर्‍याए। तर युद्ध अझै जारी छ र यसको अन्त्य कहिले हुन्छ भन्ने स्पष्ट छैन।

युद्धका कारण अमेरिकामा ट्रम्पको लोकप्रियता घटेको अध्ययनले देखाएका छन्। जुलाईको अन्त्यमा क्विनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणअनुसार ६० प्रतिशत अमेरिकी मतदाता इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको विपक्षमा छन्।

सञ्चारमाध्यमका रिपोर्टहरूले अमेरिकाको हतियार तथा गोलाबारुदको भण्डारमा दबाब बढेका कारण थप सैन्य कारबाहीका विकल्प सीमित हुन सक्ने संकेत गरेका छन्।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानसँगको तनाव अझ बढाउने सम्भावना देखिएको छ। इरानका उपविदेशमन्त्री काजेम घरीबाबादीले सामाजिक सञ्जालमार्फत ट्रम्पको भनाइको कडा प्रतिवाद गरेका छन्।

उनले लेखेका छन्, ‘ट्रम्पले इरानको पराजयपछि होर्मुज  जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका छन्। होर्मुजलाई कुनै सामाजिक सञ्जालको पोस्ट, विमानवाहक युद्धपोत, आदेश वा चुनावी भाषणमार्फत कब्जा गर्न सकिँदैन। इरान धम्कीबाट डराउँदैन र शक्तिको प्रदर्शनबाट पनि आतंकित हुँदैन।’

शुक्रबारको भनाइ ट्रम्पले अमेरिकी भूभाग विस्तारको संकेत दिएको पहिलो घटना भने होइन। सन् २०२५ मा आफ्नो दोस्रो राष्ट्रपतीय शपथग्रहणका क्रममा ट्रम्पले क्यानडा र डेनमार्कको स्वायत्त भूभाग ग्रिनल्यान्डजस्ता क्षेत्रमाथि समेत आफ्नो दाबी र दबाब बढाएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!