बुधबार, ०७ अक्टोबर २०२६

ट्रायथलन संघको साधारण सभा सम्पन्न

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाल ट्रायथलन संघले शनिबार नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा बसेको सो साधारण सभामा संस्थाका मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि र संस्थापक अध्यक्ष विश्वशंकर पालिखे विशेष अतिथि थिए।

संघका अध्यक्ष श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलनलाई समावेश नगर्दा र आगामी एसियाली खेलकुदमा पनि यो खेल नपर्दा दुःख व्यक्त गरे। 

जापानको आइची नागोयामा हुने एसियाली खेलकुदमा ट्रायथलन टेक्निकल अफिसरको रुपमा चाहना शाह र पुष्परत्न वज्राचार्य मात्र सहभागी हुँदैछन्। 

अध्यक्ष श्रेष्ठले सुर्खेतमा हुने राष्ट्रिय खेलकुदमा भने ट्रायथलनलाई ‘लेट’ इन्ट्री दिलाउन प्रयास भइरहेको बताए।

उनले भने, 'यसअघिका राष्ट्रिय खेलकुदमा ट्रायथलन सँधै सहभागी भइरहेको तर आगामी राष्ट्रिय खेलकुदमा प्राविधिक कारण भन्दै ट्रायथलनलाई समावेश नगर्दा हामीलाई दुःख लागेको छ। तर हामी सम्बन्धित पक्षहरुसँग छलफल गर्दैछौँ। सरोकारवालाहरु ट्रायथलनलाई राष्ट्रिय खेलकुदमा समावेश गर्नेमा सकारात्मक छन्।'

सो साधारण सभामा विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देश दिए। 

उनले शुभकामना सन्देशमा हालै बाढिपहरोको प्रकोपमा परेको नेपालप्रति सहानुभूति व्यक्त गर्दै विश्व ट्रायथलन संघ यस दुःखद घडीमा नेपालको साथमा छ भनी एक्यबद्धता जनाए। 

नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले बाढीपिडतको सहयोगका लागि वल्र्ड ट्रायथलन संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए।

साधारण सभामा ट्रायथनल सघका महासचिव युवराज सुनारले वार्षिक कार्यक्रम र योजना तथा कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक वर्षको आयव्यय प्रस्तुत गरेका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!