शनिबार, ०७ नोभेम्बर २०२६

घटस्थापनाको अवसरमा चन्दननाथ र भैरवनाथ मन्दिरमा ठड्याइयो नयाँ लिंगो

News Image
• • •

जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली प्रदेशकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको अवसरमा नयाँ लिंगो ठड्याइएको छ।

हरेक वर्ष घटस्थापनाका दिन लिंगो फेर्ने परम्पराअनुसार यस वर्ष पनि चन्दननाथ मन्दिरमा ५२ हाते र भैरवनाथ मन्दिरमा ४८ हाते लिंगो ठड्याइएको हो। मन्दिरमा लिंगो ठड्याएपछि मात्रै जुम्लावासीले आ–आफ्नो घरमा घटस्थापना गरी जमरा राख्ने चलन छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र त्यति नै हातको ध्वजा राख्ने परम्परा छ। वर्षमा ५२ हप्ता हुने भएकाले चन्दननाथ र भैरवनाथले वर्षभरि सबैको रक्षा गरून् भन्ने धार्मिक विश्वासका साथ लिंगो ठड्याउने गरिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले जानकारी दिए। मन्दिरको माटो घरमा लगेर जमरा राख्ने चलनले पनि यहाँको धार्मिक आस्था र परम्परालाई थप विशेष बनाएको उनको भनाइ छ।

घटस्थापनाका दिन चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सी धानको सिक चढाउने परम्परा पनि कायमै छ। उत्पादन वृद्धि होस्, अन्नको अभाव नहोस् र समाजमा सुख, शान्ति तथा समृद्धि कायम रहोस् भन्ने कामनासहित मार्सी धानको सिक चढाउने गरिएको संस्कृतिका जानकार रमानन्द आचार्यले बताए।

चन्दननाथ मन्दिरमा लिंगो फेर्न तत्कालीन कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट आवश्यक सामग्री ल्याउने चलन थियो। आचार्यका अनुसार जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ र मह, हुम्लाबाट ठेटुवा तथा चौरीको फुर्को र मुगुबाट दाल, राडीपाखीलगायत सामग्री पठाउने गरिन्थ्यो। तर, समयसँगै उक्त परम्परा रोकिएको छ। अहिले लिंगो फेर्न आवश्यक व्यवस्थापन सुरक्षाकर्मीले गर्दै आएका छन्।

धार्मिक आस्था, कृषि संस्कृति र सामूहिक सहभागितासँग जोडिएको चन्दननाथ मन्दिरको लिंगो फेर्ने परम्परा जुम्लाको सांस्कृतिक पहिचान भएको आचार्यले बताए।

उनले भने, ‘पुस्तौंदेखि निरन्तर चल्दै आएको यो परम्पराले दसैंलाई स्वागत गर्ने मात्र नभई स्थानीय इतिहास, विश्वास र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वपूर्ण आधारसमेत बनेको छ।’

घटस्थापनाका दिन व्यापारका लागि बाहिर निस्केका व्यापारी, अध्ययनका लागि जिल्ला बाहिर गएका विद्यार्थी र जिल्ला बाहिरै कर्मथलो बनाएका अधिकांश कर्मचारी घर फर्किसकेका हुन्छन्। यो दिन आफन्तसँग भेटघाट गर्ने उपयुक्त अवसरका रूपमा पनि चिनिँदै आएको जानकारहरू बताउँछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!