आइतबार, ०८ नोभेम्बर २०२६

पाँच सय लगानीले जो बने प्रख्यात: पवनको कैंचीमा भरोसा गर्ने उर्लाबारी  शहर

तेजन खड्का

तेजन खड्का

उर्लाबारी, मोरङ
News Image
• • •

मोरङको उर्लाबारी बजारमा एउटा सैलुन छ, जहाँ कुर्सी कहिल्यै खाली हुँदैन। ग्राहकहरूको भीड र पालोको हतारो त्यो सैलुनको खासियत हो। र, त्यो भीडको कारण छन् एक जना युवक— पवनदेव ठाकुर।

बरगाछी चोकस्थित पवन हेयर सैलुन आज उर्लाबारीकै होइन, वरपरका सहरहरूका लागि पनि ‘ट्रस्टेड ब्राण्ड’ बनेको छ। यहाँ कपाल काट्न पाउने मात्रै होइन, पवनकै हातले काटिदिने सुनिश्चित गर्न फोनमै पालो बुक गरिन्छ।

पाँच सयबाट सुरु, लाखौँसम्मको यात्रा

१८ वर्षअघि पवनले पाँच सय रुपैयाँको औजार किनेर कपाल काट्न थालेका थिए। दिल्लीमा सिकेको सीप लिएर फर्किएपछि उर्लाबारीमा पसल सुरु गरे। सुरुमा गिज्याइएका, हेपिएका उनी अहिले दैनिक १० हजारसम्म कमाउने सफल उद्यमी बनेका छन्।

‘काम त काम हो नि, सानो ठुलो केही हुँदैन,’ सैलुनको कुर्सीबाट केहीबेर विश्राम लिँदै पवन भन्छन्।

कुर्सीमा ग्राहक, मनमा सपना

पवनको सैलुनमा अहिले ८ जना युवाले रोजगारी पाएका छन्। बिहान ६ बजेदेखि राति ८ बजेसम्म सैलुन खुला हुन्छ। तर समय अपुग हुन्छ।
खाना खान फुर्सद छैन, उनी मुस्कुराउँदै भन्छन्।

ग्राहकको रोजाइ, सहरको साख

उर्लाबारी–९ का डम्बर राईको भनाइले पवनको लोकप्रियता प्रष्ट पार्छ- ‘पवन बाहेक अरूसँग कपाल काट्दा चित्तै बुझ्दैन।’

समाजमा पनि सक्रिय

पवनले व्यवसायसँगै समाज सेवामा पनि आफूलाई समर्पित गरेका छन्। नमुना बालगृहका बालबालिकालाई निःशुल्क सेवा दिनेदेखि लिएर युवाहरूलाई तालिम दिनेसम्म उनले विभिन्न योगदान दिएका छन्।

‘मैले तालिम दिएका केटाहरू आफ्नै पसल खोलेका छन् भन्ने सुन्दा आनन्द लाग्छ,’ पवन भन्छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!