बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वाधार विभागका सचिव कृष्ण भेटवालले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामार्फत दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण गराएका हुन्।
पुष २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो।
‘नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन्। र, त्यसमा ६ जनाको मृत्यु हुन्छ। चौध जना गम्भीर घाइते हुन्छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार ७ सय ७९ जना गम्भीर घाइते भए। प्रत्येक वर्ष औसतमा २ हजार बढीले दुर्घटनामा ज्यान गुमाउँछन्। नेपालका ६६ लाख ६६ हजार ९३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्वाहारिरहेको छन्’, रास्वपाले उल्लेख गरेकाे छ।
दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य वारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नभएकाे आरोप लगाएको छ।
‘दुर्घटना न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाउनु त कहाँ हो कहाँ दुर्घटनाले सामाजिक र आर्थिक रुपमा के कस्तो असर पुऱ्याइहेको छ भन्नेबारे सामान्य अध्ययन पनि गरिएको छैन। तसर्थ, सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न बाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीज्यू समक्ष आग्रह गर्दछु’, रास्वपाका महामन्त्री डा. मुकुल ढकालद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएकाे छ।
रास्वपाले ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्ने तर, त्यसका प्रतिवेदन कार्यान्वयनमा नल्याइएकाे उल्लेख गरेकाे छ।
रास्वपाले प्रश्न गरेकाे छ, ‘ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्छ। तर, त्यसका प्रतिवेदन कार्यान्वयनमा ल्याइँदैन। चालक या यान्त्रिक गडबडीलाई दोष दिएर नियामक निकाय उम्किने गलत प्रवृत्तिको निरन्तरता कहिलेसम्म कायम रहन्छ?’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया