मङ्गलबार, ०९ जुन २०२६

गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ

• • •

बिएल सम्पादकीय

तातो खूनले भरिएका भर्भराउँदा तन्नेरीहरू सोमबार बिहानै देशभरिका सहरीचोकमा जुटिरहेका थिए।

सामाजिक सञ्जालमार्फत देशव्यापी ‘जेन-जी’ अभियान छेडिरहेका यी कलिला कोपिलाहरू सोमबार एकैपटक सडकमा ओर्लिए।

देशभरिका अरु सहरजस्तै काठमाडौंको माइतीघरमा हामी यी कलिला तर ओजिला आवाजको साक्षी थियौं।

बिहानको नौ बज्दा नबज्दै माइततीरको कुनाहरू कलेज अनि स्कुल ड्रेस लगाएका किशोर-किशोरीहरूले ढाकिसकेका थिए। संसद भवनतिर अघि बढ्दै गर्दा लगभग पूरापूर सडक ढाकिसकेको थियो।

आफ्ना बाउ-दाजुहरूले पसिना बगाएर कमाएको पैसाले मोजमस्ती गरिरहेका नेताका छोराछोरीको जीवनशैली, भ्रष्टाचार अनि भ्रष्ट शासकविरुद्ध चर्का नारा लगाइरहेका यो जेन-जी पुस्ता आफ्नो अनि देशको ‘भविष्य’ कोरिएका ब्यानर, प्लेकार्ड र नाराजुलुस लगाइरहेका थिए।

केहीबेरमा बिजुलीबजार पुलपारि प्रहरीको घेराअघि जुलुस पुग्यो, धकेलाधकेलन अनि ठेलमठेलबीच आन्दोलनकारीले प्रहरीको बार ढालिसकेका थिए। त्यत्तिकैमा प्रहरीले अश्रुग्यास हान्ने तरखर पनि गरिरहेको थियो।

संसद भवनको अघि पुग्दानपुग्दा भीड अनियन्त्रित हुन थालिसकेको थियो। प्रहरी तयारी अवस्थामा थिए। आन्दोलनकारी उत्तेजित भइसकेका थिए।

त्यसपछि हेर्दाहेर्दै वानेश्वरको सडक ‘रणभूमि’जस्तै बन्यो। केही बेरमै प्रहरीको गोली अनि अश्रुग्यास र पानीका फोहराले सडक ढाकियो। आन्दोलनकारी अनि प्रहरीहरू सडकमै ढल्न थाले।

त्यतिञ्जेल काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई दुईवटा कर्फ्यू आदेश जारी गरिसकेको थियो।

शान्तिपूर्ण भनिएको आन्दोलन एकाएक कनि यस्तो भयो?

एकातिर तातो खुनले भरिएका भर्भराउँदा तन्नेरीहरू सडकमा थिए। अर्कोतिर उनीहरूलाई उक्साउने र बिथोल्नेहरुको पनि कमी थिएन। सुरुमा शान्त अनि संयम देखिएको प्रहरी एकाएक किन एक्सनमा उत्रियो?

यसको पछाडि एउटा प्रस्ट दृश्य छ- घुसपैठ। हो, घुसपैठ त पक्कै भयो। कलिला दिमागलाई भड्काउनका लागि यसअघि नै राजनीतिक स्वार्थ हेरिरहेकाहरूले उनीहरूलाई उक्साइरहेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले पार्टीगत पहिचानबिना सहभागिता जनाउन आफ्ना समर्थकहरूलाई भनेका थिए।

त्यसो त दुर्गा प्रसाईंले पनि यो आन्दोलनमा सहभागी हुने भनेका थिए। जेनजी आन्दोलनको नेतृत्व गरेका युवाहरूले उनलाई घरमै भेटेको भनेर केही तस्बिरहरू पनि सार्वजनिक भए। अन्तिममा उनीहरुको आग्रहपछि प्रसाईं सहभागी नहुने भए।

जेजस्तो भए पनि जेनजीले स्वतन्त्ररुपमा आह्वान गरेको यो आन्दोलनमा घुसपैठ भने पक्कै भयो। बानेश्वरको एभरेस्ट होटलअघि प्रहरीको बार भत्काएर आन्दोलन अघि बढेको थियो।

संसद भवनको गेट नं २ सम्म पुगेर गेट नाघ्ने र पर्खाल भत्काउने खोज्नेहरू कुनै कलेजका पोशाकमा थिएनन्। उनीहरूले मास्क लगाएका थिए र हेल्मेट लगाएका थिए। त्यस्तै केही थान युवाहरू पर्खालमाथि चढे। कसैले पर्खाल तोडफोड गर्न थाले। १०० भन्दा बढी युवा त्यतिञ्जेल संसद भवनभित्र छिरिसकेका थिए। केहीले गेटमा आगो झोसिसकेका थिए।

त्यो पनि प्रहरीले पानीका फोहरा र अश्रुग्याँस हानिरहेको थियो। त्यसपछि प्रहरीले हवाई फायर हुँदै गोलीसम्म चलायो।

यो घटनामा सयजना भन्दा धेरै घाइते भएका छन्। आधादर्जनजतिको मृत्यु भइसकेको समाचारहरू आएका छन्।

कलिला जीवन सडकमै समाप्त भएका छन्। यो गम्भिर अपराधको जिम्मेवारी स्वंय सरकारले नै लिनुपर्छ। सरकार चलाएका पार्टीहरूले लिनुपर्छ। उनीहरूलाई बिथोल्न र भड्काउन अनि उक्साउनेहरूले लिनुपर्छ।

कलिला ज्यानमाथि गोली ठोकेर यिनीहरूको कर्तुत पखालिनेछैन।

जेन जी पुस्ता मात्रै देशको अमूक भविष्य होइन, यो आजको वर्तमान हो। पुस्तामाथिको बर्बरता कुनै पनि हालतमा सैह्य हुनेछैन।

गृहमन्त्रीमात्रै होइन, यो घटनापछि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!