शनिबार, १७ अक्टोबर २०२६

मन बिमार भयो कि!

दिपा धिताल

दिपा धिताल

काठमाडौं
News Image
• • •

सन्दर्भः विश्व मानसिक स्वास्थ्य दिवस

संसारमा हुने हरेक प्रकारका बिपत्तीले धेरै मानिसहरुमा मनोसामाजिक समस्या निम्त्याउने गर्दछ। पछिल्लो समय ‘प्राकृतीक र मानब सृजीत’ बिभिन्न घटनाले नेपालीलाई पटकपटक चोट दिईरहेको छ। २०५२ साल फाल्गुनको १ देखि १० बर्ष द्वन्द्व झेलेका नेपालीलाई राजदरबार हत्याकाण्ड, २०७२ को महाभुकम्प, कोरोना महामारीले दुखाईरहँदा पछिल्लो जेएनजी आन्दोलनका समयमा भएको नरसंहार र आगजनीले नराम्रोसँग पिरोलिरहेको छ।

यतिबेला आमरूपमा समस्याका रूपमा नलिइने मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गइरहेकोमा मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थालेका छन्। बिभिन्न समयमा हुने मानबिय तथा प्राकृतिक प्रकोपसँगै लैगिंक हिंसा, बालविवाह, लागुपदार्थ दुर्व्यसनी, बिपन्नताका कारण देखिने मानसिक समस्या बढ्दो गतिमा गएको प्रहरीको तथ्याङ्कले पनि देखाउछ।

नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने आत्महत्या ग्राफ उकालो लागेको अबस्थामा छ। नेपालमा गत आर्थिक बर्ष २०८१-०८२ मा ७ हजार ५५ जनाले आत्महत्या गरेका थिए। चिकित्सकका अनुसार यि मध्य धेरै जसो आत्महत्या मानसिक समस्याका कारण भएका हुन। बिश्वमा हुने मृत्युका कारण मध्य आत्महत्या १५ औं नम्बरमा पर्छ। बार्षिक करिब ७ लाख बढि मानिसको आत्महत्याका कारण ज्यान जाने गर्दछ अर्थात हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको पाईन्छ।

आर्थिक बर्ष २०७२-०७३ देखिको आत्महत्याको तथ्याङ्क हेर्दै गर्दा क्रमशः ४ हजार ६ सय ८०, पाँच हजार १ सय २४, पाँच हजार ३ सय १७, पाँच हजार ७ सय ५४, छ हजार २ सय ७९, सात हजार १ सय ४१ जनाले आत्महत्या गरेका थिए। त्यसै गरि आर्थिक बर्ष २०७८-०७९ देखि क्रमशः छ हजार ८ सय ३०, छ हजार ९ सय ९३, सात हजार २ सय २३ र गत आर्थिक बर्ष २०८१-०८२ मा सात हजार ५५ जनाले आत्महत्या गरेका थिए। आत्महत्या दर देशका ७ प्रदेश मध्य लुम्बिनीमा धेरै अर्थात १ हजार ३ सय २९ रहेको छ।

संसारका हरेक बिपदमा सबै भन्दा बढि जोखिममा पर्ने महिला र बालबालिका हुन्। नेपालमा एक दशक सम्म चलेको सशस्त्र द्वन्द्वताका गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन्। जसमा महिला तथा बालबालिकाहरू बढी प्रभावित भएका थिए। द्वन्द्वको समयमा महिला र बालिकाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा परिस्थितिजन्य घटनाका कारणबाट जोखिमपूर्ण जीवन बाँच्न बाध्य भएको उदाहरण प्रशस्तै छन्। अन्य हरेक बिपत्तीको मार खेप्ने समुह पनि यहि हो।

बिभिन्न उतारचढाब थेगेको नेपाली समाजलाई पछिल्लो समय भएको जेनजी आन्दोलनले मानसिक रुपमा नकारात्मक झट्का दिएको छ। उक्त क्रममा भएका घटनाले फेरि धेरै मानिसको मनस्थिति खलबलिएको छ। जेनजी आन्दोलन पछि मानिसहरुमा मानसिक समस्या थपिएको मनोचिकित्साहरु बताउँछन्। मानसिक रुपमा समस्या भोगेका तर सुधार हुदै गरेको बिरामीहरुमा पनि गत भदौ २३ र २४ को घटनापछि फेरि मानसिक समस्या दोहरिएका छन।

न्युज र भ्युजका लागि सम्पादन गरिएका भदौ २३ र २४ का दृष्यहरू सामाजिक सञ्जालमा आएपछि धेरै मानिसमा मानसिक समस्या थपिएको हो। सामाजिक सञ्जालमा राखिएका विभत्स दृष्यले मानसिक समस्यामा अझ धेरै नकारात्मक असर पुगेको देखिन्छ। जेनजीको आन्दोलन पछि धेरै मानिसहरुमा निदाउन नसक्ने, तर्सिने, डराउने, मुटु ढुकढुक हुने, असुरक्षा महसुस हुनुका साथै विश्वासमा कमी आएको छ।

जहाँ हुदा पनि मनमा त्यही कुरा आउने, स्वास फेर्न गाह्रो महसुस हुने, छाती भारी हुने, निद्रामा असजिलो हुने र डरलाग्दा सपना देखिँदा धेरैको दिनचर्या असजिलो भएको छ। यो समस्या लामो समय रहन सक्छ। आफैंले आफ्नो समस्या समाधान गर्न नसक्ने यस्ता समस्याले जोखिममा रहेका समूहलाई झन ठुलो समस्या हुन सक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो जसमा व्यक्तिले आफूसँग भएको सामर्थ्यलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्न सक्ने, उत्पादनशीलकाम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्न सक्ने हुन्छन्।

मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्यहुने ढंगले प्रकट गर्दछन्। मन र समाजबिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ।

तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, ऊ सँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्यक्ति गत भावना विचार, धारणा, बुझाइ आदि पनि हुन्छ। यीदुई बिचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुई बिच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्नहुन सक्छ।

मानसिक तनावका कारण मानिसलाई थुप्रै मनोसामाजिक समस्या हुनसक्छन्। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटीको समस्यासँगै निन्द्राको समस्या समेत हुन्छ। तनावका समयमा मानिसहरूले लागु पदार्थ समेत प्रयोग गर्छन्। दिक्कलाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ। हातखुट्टा झमझमाउने पोल्ने कहिले यता कहिले यता दुखेजस्तो लाग्ने हुन्छ। यस्तो बेलामा अस्पताल जचाउन गयो तर रिपोर्टमा केही पनि आउँदैन। यो सबै तनावका कारणले हुन्छ।

यस्ता खालका तनाबबाट टाढा रहनका लागि हामीले दैनिक व्यायाम, योग ध्यान गर्ने र सक्दो सन्तुलित र प्राक्रितिक भोजन गर्ने,फुर्सद हुनासाथ आफूलाई खुसी र रमाइलो लाग्ने क्रियाकलापमा व्यस्था हुने। अनावश्यक तनाव र भद्रगोल जिन्दगीबाट टाढा रहने सकभर व्यवस्थित र सरल जीवन रोज्ने गर्नुपर्छ।

आफूले विगतमा गरेका नराम्रा काम नदोहोर्‍याउने र त्यसबाट टाढा बस्ने। गीतसंगीत सुन्ने, प्राकृतिक वातावारमा घुम्ने, जीवनमा खुसी, शान्ति जस्ता विषयलाई प्रथामिकता दिने। आफ्नो वरपरको वातारणलाई स्वस्च्छ र अनुकूल बनाउने, मनमा धेरै कुरा नखेलाउने। भूत र भविष्यको चिन्ता गर्ने बानी नगर्ने र वर्तमानमा सहज हुने सीपको विकास गर्ने उपाय प्रभाबकारी हुन सक्छ।

हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइन्छ। सन् १९९२ मा संयुक्त राष्ट्रसंघका उपमहासचिव रिचर्ड हन्टर र विश्व मानसिक स्वास्थ्य महासंघले पहल गरेपछि यो दिवस मनाउन थालिएको हो। पछि सन् १९९४ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव युजीन ब्रोडीले मानसिक स्वास्थ्य दिवसको नारा तय गरेर यो दिवस मनाउन सुझाव दिएका थिए। सोही वर्ष ‘विश्वभर मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार’ भन्ने नाराका साथ पहिलो पटक विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो।

यसको उद्देश्य मानिसहरुलाई मानसिक स्वास्थ्यको महत्व बारे सचेत गराउनु र मानसिक रोगबारे जानकारी दिनु हो। मानिसले आफ्नो शारिरीक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न जरुरी रहेको बताउनु दिवसको मर्म हो। तन र मन दुवैको स्वास्थ्य एकअर्कामा निर्भर छ, अर्थात् तनाव–चिन्ताजस्ता मानसिक समस्याको शिकार हुनुहुन्छ भने त्यसको असर शारिरीक स्वास्थ्यमा पनि पर्न सक्छ।

नेपालका धेरै अस्पताल, स्वास्थ्य संस्थामा मनोचिकित्सक र मनोबिमर्शकर्ता नहुनु ठुलो समस्या छ।

मानसिक समस्या बोकेर आउनेहरुलाई मनोबिमर्शको जरुरी हुन्छ तर सेवा उपलब्ध नहुदा सकस पर्ने गर्दछ। कम्तीमा पनि स्थानिय तहहरुले पालिकाहरुमा मनोबिमर्शकर्ताको ब्यबस्था गरि मानसिक स्वास्थ्यका बारेमा थोरै मात्र सकारात्मक भुमिका खेलिदिए धेरै हुने देखिन्छ। हरेक दिन ब्यक्तिको खुसी लुटिरहेको यो समस्या बारेमा सबैले बेलैमा ध्यान जावस सबैमा विश्व मानसिक स्वास्थ्य दिवसको हार्दिक शुभकामना!

(लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुमपूर्बका जिल्ला संयोजक हुन्।)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!