शुक्रबार, १४ नोभेम्बर २०२५

दाङमा जुवाको जाल मजबुत: प्रहरी ‘मौन’ कि ‘संलग्न’?

News Image
• • •

दाङका विभिन्न सहर र वडाहरूमा पछिल्ला महिनामा जुवातासको जाल तीव्र रूपमा फैलिएको छ। घोराही, नारायणपुर र तुल्सीपुर क्षेत्रका कुनाकाप्चामा रात परेपछि खुला रूपमा जुवा खेलिने र त्यसमा पैसा, शक्ति र सम्बन्धको खेल चल्ने गरेको स्थानीयले बताएका छन्।

स्थानीय स्रोतका अनुसार, घोराही उपमहानगरपालिका १६ मा संचालित जुवा धन्दा संगठित समूहले नियन्त्रित गरेको छ।

यसरी जुवाको धन्दा चलिरहदा अहिले सर्वाधिक चर्चा भएको विषय भनेकै प्रहरीको मौनता हो। स्थानीयहरू भन्छन् , “जुवा त सबैको अगाडि खेलिन्छ, तर प्रहरी देख्दैन। देखेर पनि नदेखेजस्तो गर्छ।”

सूत्रका अनुसार, युवराज गौतम ‘टावर’ नामक प्रहरी अधिकारी लामो समयदेखि यही क्षेत्रमा कार्यरत छन्। उनी झण्डै दुई दशकदेखि एउटै स्थानमा पदस्थापन भएको आरोप छ। यसले प्रहरी प्रशासनभित्र सत्ताको पहुँच र राजनीतिक सम्बन्धको खेल भएको आशंका बल्झाएको छ। उनी प्रहरीका घुमुवा हुन्।

‘टावर’ भनिने गौतमको सम्बन्ध लागुऔषध कारोबारीसँग समेत रहेको आशंका बढ्दै गएको छ। स्थानीय स्रोतका भनाइमा, केही घटनामा उनले शंकास्पद व्यक्ति र समूहलाई सुरक्षाको आडमा संरक्षण गरेका थिए।

स्थानीय भन्छन्, ‘नियमभन्दा सम्बन्ध बलियो छ यहाँ। दुई दशक एउटै ठाउँमा बसेको प्रहरी अधिकारीले जुवा धन्दा नदेख्नु असम्भव कुरा हो।’

विगतमा पनि उनीमाथि सत्ताको दुरुपयोग र प्रभावको दुरुपयोग सम्बन्धी विवाद उठेको बताइन्छ, तर हरेकपटक उनी उन्मुक्ति पाउँछन्। उनकै कारण अहिले स्थानीय नागरिकबीच प्रहरीप्रतिको विश्वास लगभग समाप्त भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!