इंग्ल्यान्डको अगाडि न्युजिल्यान्ड तगारो

Agency

विश्व कपको अति महत्वपूर्ण खेलमा आयोजक इंग्ल्यान्ड बुधबार किवी टोलीसँग भिड्दै छ।

चेस्टर–ले स्ट्रीटमा हुने खेल जुन टोलीले जित्छ, त्यसले सेमिफाइनलमा स्थान बनाउने छ। त्यसैले इंग्ल्यान्ड र न्युजिल्यान्ड दुवैका लागि आजको खेल ‘गर या मर’ को स्थितिमा छ। न्युजिल्यान्ड ८ खेलमा ११ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ। इंग्ल्यान्ड पनि ८ खेल खेलेर १० अंक सहित चौथो स्थानमा छ।

न्युजिल्यान्डले खेल जितेको खण्डमा १३ अंक बटुलेर सेमिफाइनलमा स्थान बनाउने छ। इंग्ल्यान्ड विजयी भएको खण्डमा आयोजक टोली १२ अंक सहित सेमिफाइनल प्रवेश गर्नेछ।

यो खेलमा पराजित हुने टोली पाकिस्तान र बंगलादेशको खेलबाट निस्किने नतिजामा भर पर्नेछ। पाकिस्तान आज इंग्ल्यान्डको पराजयमा खुसी हुनेछ। बंगलादेशविरूद्ध अन्तिम खेलको तयारीमा रहेको पाकिस्तानको ९ अंक छ र इंग्ल्यान्ड पराजित भएको र आफूले बंगलादेशलाई पराजित गरेको खण्डमा सेमिफाइनलको यात्रा तय गर्नेछ।

इंग्ल्यान्ड २७ वर्षदेखि विश्व कपको सेमिफाइनलमा प्रवेश गरेको छैन। सन् १९९२ मा इंग्ल्यान्ड अन्तिम ४ मा प्रवेश गरेको थियो। इंग्ल्यान्डले ५ पल्ट विश्व कपको सेमिफाइनलमा स्थान बनाएको छ। आयोजक टोलीको अनुपातमा न्युजिल्यान्डले ७ पल्ट सेमिफाइनल खेलेको छ। पछिल्लो विश्व कपहरूमा उ नियमित सेमिफाइनलको टोली हो।

हालसम्म यी टोलीबीच ८ पल्ट विश्व कपमा भिड्न्त भएको छ। जसमा न्युजिल्यान्ड ५ पल्ट विजयी छ। इंग्ल्यान्डले ३ पल्ट जितेको छ।

न्युजिल्यान्ड ३६ वर्षयता विश्व कपमा इंग्ल्यान्डसँग पराजित भएको छैन। सन् १९८३ को विश्व कपमा पछिल्लो पल्ट न्युजिल्यान्ड पराजित भएको थियो।

प्रारम्भिक ब्याट्सम्यान जेसन रोय चोटबाट पुनः टिममा फर्किएपछि इंग्ल्यान्ड बलियो देखिन्छ। भारतविरूद्ध टिममा फर्किएको खेलमा रोयले ६६ रन बनाउँदै आफ्नो टोलीलाई बलियो सुरुवात दिएका थिए। उनी फर्किएको खेलमा अपराजित भारतलाई इंग्ल्यान्डले पराजित गरेको थियो।

कप्तान इयोन मोर्गन, जोनी बेयरस्टो, जोए रुट जस्ता ब्याट्सम्यान फर्ममा देखिन्छन्। फेरि युवा बलर जोफ्रा आर्चरको प्रदर्शन पनि प्रभावशाली रहेको कारण इंग्ल्यान्ड केही बलियो देखिन्छ। आर्चरले १६ विकेट लिइसकेका छन्।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनको खेलले महत्व राख्ने छ। जारी विश्व कपमा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ। उनले ६ इनिङमा १सय १३ दशमलव ५० को औसतले ४ सय ५४ रन बनाइसकेका छन्। उनको नाममा २ सतक छ।

यस्तै, तीब्र बलर लोकी फर्गुसनले पनि आफूलाई प्रमाणित गरिसकेका छन्। उनले ७ खेलमा १७ विकेट लिएका छन्। १ सय ५० किलोमिटर प्रतिघण्टामा बल फ्याँक्न सक्ने फर्गुसन इंग्लिस ब्याट्सम्यानका लागि टाउको दुखाई बन्न सक्छन्।

प्रकाशित मिति: : 2019-07-03 13:00:17

प्रतिकृया दिनुहोस्