इंग्ल्यान्ड २७ वर्षपछि विश्व कपको सेमिफाइनलमा, पाकिस्तानको सम्भावना पातलियो

Agency

इंग्ल्यान्ड १९९२ पछि विश्व कपको सेमिफाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डलाई आफ्नो अन्तिम राउन्ड रोबिन खेलमा १ सय १९ रनले पराजित गर्ने क्रममा आयोजक टोली २७ वर्षपछि विश्व कपको अन्तिम ४ मा प्रवेश गरेको हो।

जोनी बेयरस्टोको १ सय ६ रनको सतकीय इनिङका कारण इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो। प्रत्युत्तरमा न्युजिल्यान्ड ४५ ओभरमा १ सय ८६ रनमा खुम्चिन पुग्यो।

इंग्ल्यान्डको जितमा मार्क उड र जोफ्रा आर्चरले घातक बलिङ गरे। उडले ३ विकेट लिए। आर्चरले ७ ओभरमा १७ रन मात्र खर्चेर १ विकेट लिए।

न्युजिल्यान्डको तर्फबाट मध्यक्रमका ब्याट्सम्यान टोम लाथमले मात्र अर्धसतकीय इनिङ खेले। उनले ५७ रन बनाए। कप्तान केन विलियम्सन २७ रनमा रनआउट भएपछि न्युजिल्यान्ड दबावमा देखिएको थियो।

प्रारम्भिक ब्याट्सम्यान हेनरी निकोलस क्रिस ओक्सको पहिलो बलमै एलबिडब्लुको शिकार भएपछि न्युजिल्यान्ड पहिले देखि नै दबावमा देखियो। मार्टिन गुप्टिल ८, रोस टेलर २८ रन आउट भए।

कप्तान विलियम्सन र टेलर दुवै रन आउट हुनु न्युजिल्यान्डका लागि दुर्भाग्य बन्यो।

यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बेयरस्टोले लगातार दोस्रो सतक पुरा गरे। उनले यसअघि भारतविरूद्ध पनि सतक बनाएका थिए। उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरियो। बेयरस्टोले जेसन रोयसँग मिलेर फेरि सतकीय साझेदारी गरे। रोयले ६० रन बनाए।

जोए रुटले २४ र कप्तान इयोन मोर्गनले ४५ रन बनाएका थिए।

न्युजिल्यान्डको पराजयले पाकिस्तानको सेमिफाइनल प्रवेश गर्ने सम्भावना निकै कमजोर भएको छ। अब पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेर मात्र पुग्दैन्। उसले अंक तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्डको भन्दा राम्रो रनरेट पनि बनाउनु पर्नेछ।

हाल न्युजिल्यान्ड ११ अंकका साथ चौथो स्थानमा छ। पाकिस्तानको अन्तिम खेल खेल्नुअघि ९ अंक छ।

प्रकाशित मिति: : 2019-07-03 23:24:15

प्रतिकृया दिनुहोस्