कोरोना कहर : मास्क र स्यानिटाइजर पाइन छाडे (भिडियाे)

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्।

१० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ।

दैनिक उपभोग्य सामानदेखि औषधीको मात्रा पनि दिनप्रति दिन घट्दो क्रममा छ।

कोरोनाकै त्रासका कारण मानिसहरू मेडिकलका सामानहरू पछिको प्रयोगका लागि भनेर थुपार्ने चलन बढेको छ।

उपत्यकाका ठूला ठूला सर्जिकल हाउसमा मास्क तथा ह्यान्ड स्यानिटाइजर पाउन छाडेका छन्। मास्क तथा ह्यान्ड स्यानिटाइजर पहिला पहिला अस्पतालको प्रयोजनको लागि सिमित मात्रामा प्रयोग हुन्थ्यो तर कोरोनाको त्राससँगै यसको प्रयोग र माग एक्कासी बढ्यो।

जसका कारणले मानिस सामान्य भन्दा सामान्य औषधि पनि बढी मात्रामा किन्ने चलन बढ्यो।

आजकाल मेडिकल व्यापारीहरू दिनमा पचास पटक भन्दा बढी पटक मास्क छैन भन्न बाध्य छन्।

त्रिपुरेश्वरमा अ‍ैषधि पसल सञ्चालन गर्दै आएका मुकेश मालाकरले औषधि पसलमा मास्क र न्यापकिन नभएको बताए।

प्राय नेपाली र भारतीय औषधीहरू बढी प्रयोगमा रहे पनि सर्जिकल मास्क तथा न्याक्पीन चिनियाँ भएकाले आयात नहुँदा समान नपाएको मालाकारको प्रतिक्रिया छ।

‘चीनमा कोरोनाको सक्रंमण  बढेसँगै नेपालमा मास्कहरू आउन छाडे, चीनमा नै नपुगिरहेको बेला नेपालमा कसरी  आउँछ’, उनले बिएल नेपाली सेवासँग भने।

त्यस्तै विगत १७ वर्षदेखि त्रिपुरेश्वरमा सर्जिकल पसल सञ्चालन गदै आएका अर्जुन थापा पनि पसलहरूमा मास्क र ह्यान्ड स्यानिटाजर नभएको बताउँछन्।

बिगतका दिनमा ह्यान्ड स्यानिटाइजरका प्रयोग गर्ने  मिति सकिएर फाल्नु परेको सम्झदै भने,‘नेपालमा चीनबाट आउने मास्क, टिस्यूपेपर, तथा औषधिमा पनि आयात कम भएको छ, जसले गर्दा बजारमा मेडिकल सामाग्री कम भएको हो।

पहिले पहिले कोही कसैले अलि अलि मात्रामा मास्क प्रयोग गरे पनि स्यानिटाइजर भने प्राय कसैले प्रयोग नगर्ने र कोरोनाको संक्रमणसँगै ह्यान्ड स्यानिटाइजरको माग पनि बढेको बताए।

‘पहिले पहिले नेपालमा स्यानिटाइजर अस्पतालको प्रयोगका लागि मात्र आयात हुन्थ्यो। जता पनि प्राप्त गर्न सक्थौं। तर, माग बढी भएपछि पाउन छाड्यो’,  उनले भने।

तीन महिना अघिसम्म दैनिक ५ केश मास्क बिक्री गर्ने उनी हिजोआज सबैलाई मास्क छैन भन्दै  दिन बिताउने गरेका छन्।

‘कोरोनाका त्रासले मानिसले मास्क तथा ह्यान्ड स्यानिटाइजर मात्र नभई पञ्जा समेत बढी मात्रामा किनेर थुपार्ने गरेका छन्, उनले भने, ‘नेपालमा अब बिस्तारै अन्य सामाग्री पनि आयात कम हुँदै गएको छ। त्यस्तै हो भने पसल बन्द गरेर घर बस्नुपर्ने हुन्छ।’

त्यस्तै त्रिपुरेश्वरमा विगत ५ वर्षदेखि रिलाइफ सरर्जिकल हाउस सन्चालन गर्दै आएका सुदीप घिमिरेको पसलमा औषधि कम आयात हुन थालेको छ।

पछिल्लो समयमा कोरोनाको प्रभावले नै बजारमा मास्क तथा हाण्ड स्यानिटाइजर पाइन छाडेको उनले बताए।

यस्तै ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’ तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्।

यसैबीच सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो।

निर्देशनमा सिनेमा हल, बसपार्क, पार्टी प्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्टमा स्वास्थ्यकर्मीको टोली खटाई परीक्षण गर्ने व्यवस्था मिलाउन आह्वान गरिएको छ। मन्त्रालयका सहसचिव वसन्त अधिकारीले सबै स्थानीय तहका नाममा जारी पत्रमा सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सूचित गरिएको जानकारी दिए।

भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा उच्च सतर्कता अपनाई सबै यात्रुको स्वास्थ्य जाँच/स्क्रिनिङ प्रभावकारी पार्नसमेत भनिएको छ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण शुक्रबारसम्म १२७ देशमा पुगेको छ। याे भाइरसका कारण अहिलेसम्म एक लाख ३४ हजार ५ सय ६० जनामा सङ्क्रमण भएको छ तीमध्ये चार हजार ९७२ जनाको मृत्यु भएको छ।

कूल सङ्क्रमितमध्ये ६८ हजार ९६५ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

बाँकी बिरामी अवस्थामा रहेका ६० हजार ६२३ जनामध्ये ५४ हजार ६२९ अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ। तर पाँच हजार ९९४ जनाको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: : 2020-03-14 02:14:00

प्रतिकृया दिनुहोस्