केराका परिकारमा रमाउन बनाना क्याफे बागबजार (भिडियो)

काठमाडौंको भृकुटीमण्डपबाट १०० मिटर अगाडि बागबजार जाने बाटोमा एउटा सानो गल्ली छ। गल्ली छिर्ने बितिकै हरियो बोर्डमा रातो अक्षरले लेखिएको छ-बनाना क्याफे।

हेर्दा सामान्य देखिन्छ, अरू रेष्टुरेन्ट जस्तै यसमा पनि टेबल, कुर्चि र तस्बिरहरू भित्तामा झुण्डाइएका छन्।

अरू रेष्टुरेन्टमा जस्तै यसमा पनि खानाका विभिन्न परिकारहरू पाइन्छ। तर सबै केराबाट बनेका।

 रेष्टुरेन्टमा केराको पकौडा, चिप्स, मःम, अचारलगायत विभिन्न १० प्रकारका परिकारहरू पाइन्छन्।

दोलखाका यज्ञबहादुर खड्का र सागर लामाले यो रेष्टुरेन्ट चलाएको पाँच वर्ष भयो। रेष्टुरेन्टमा युवादेखि वृद्धसम्म केराका पारखीहरू आउँछन्।

सुरूमा शंकरदेब क्याम्पस मोडमा खोलेको रेष्टुरेन्ट बाटो बिस्तारको क्रममा गल्लीमा पुगेको हो।

केराका परिकार पारखीहरूको उत्कृष्ट थलो रहेको यो क्याफेमा केराका विभिन्न परिकारका असली स्वाद पाइन्छ। ‘हाम्रोमा केराको मःम, ‍चिप्स, जीरा  तथा पकौडासहित विभिन्न १० परिकारहरू पाइन्छ’, सञ्चालक खड्काले भने। 

आफ्नो कामलाई नै सबैथोक ठान्ने खड्का यसअघि दोलखाकाो एउटा निजी विद्यालयमा पढाउँथे।

बिहानको ६ बजेदेखि रातिको नौ बजेसम्म क्याफेमै भेटिने खड्का भक्तपुरको कौशलटारमा बस्दै आएका छन्।

उनका क्याफेमा दैनिक कम्तिमा २० दर्जनभन्दा बढी केराका परिकार  बिक्री  हुन्छ। 

उनी बिहानै बल्खु गएर केरा लिएर आउने गर्छन्। एकै पटक धेरै ल्याउँदा बिग्रने सम्भावना रहेकाले उनी हरेक दिन आवश्यकता अनुसार ल्याउने गर्छन्।  

उनको क्याफेमा अधिकांश ग्राहकको रोजाई चिप्स हुने गरेको छ। 

क्याफेमा विद्यार्थीकै भीड बढी भएपनि सबै बर्गका ग्राहकको उपस्थिति हुन्छ। बिहान आठ बजेअघि र दिउँसो २ बजे पछि  र साँझ ७ बजे पछि क्याफेमा निकै भीड हुन्छ।

केराका फाइदा

दैनिक रूपमा केरा खाने गरेमा छालामा चमक  आउँछ।

केरामा एन्टी एजिङ गुण हुन्छ, जसबाट  भिटामिन सी प्राप्त गर्न सकिन्छ र छालामा चमक आउँछ।

यसमा प्रशस्त मात्रामा फाइवर हुन्छ, जसले पाँचन प्रक्रियामा सुधार ल्याई कब्जियतको समस्या कम गर्छ। हेमोग्लोबिनको मात्रा बढाउँछ। जसले रक्तअल्पता हुनबाट बचाउँछ।

यसका साथै केरामा पर्याप्त मात्रामा पोटासियम, क्याल्सीयम तथा भिटामिन सी तथा भिटामिन बी सीक्स पाइन्छ। जसले मुटु समबन्धी रोग तथा कोलेस्टोल पनि नियन्त्रण गर्छ, भने यसमा पाइने भिटामिन बि सीक्सले मस्तिष्कलाई तीक्ष्ण तथा स्मरण क्षमता बढाउन मद्दत गर्छ। 

केरामा पाइने म्यागनेसियम तथा पेटासियमले मूत्र सम्बन्धी समस्या पनि कम गराउँछ तथा टिर्प्टोफेन नामक तत्वले मुड फेस तथा तनाव भगाँउन मद्दत गर्छ।

क्यारोटिनोइड्सले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। जसले शरीर स्वाथ्य राख्न मद्दत गर्छ।

प्रकाशित मिति: : 2020-03-16 01:43:44

प्रतिकृया दिनुहोस्