विगतको स्मरण र आत्मसमीक्षा गर्ने दिन

हरिहर दाहाल

गणतन्त्र विधिवत् रूपमा कार्यान्वयन भएको दिन हो आज। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा प्रजातन्त्रमाथि निर्मम प्रहार गरी प्रत्यक्ष निरंकुश शासन थालेपछि प्रमुख सात दल र नेकपा माओवादीबीच निकटता बढ्यो। बाह्रबुँदे समझदारी त्यसैको उपज थियो। त्यसकै प्रभावका कारण जनआन्दोलनको वातावरण बन्दै गयो। परिणामस्वरूप राजाको निरंकुशता अन्त्य र लोकतन्त्र पुनस्र्थापना निम्ति ०६२/०६३ मा जनआन्दोलन भयो। जनआन्दोलनको बलमा ०५९ जेठ ८ मा विघटित प्रतिनिधिसभा ०६३ वैशाख ११ मा पुनस्र्थापना गर्न वाध्य भए ज्ञानेन्द्र।

प्रतिनिधिसभा पुनस्र्थापना मात्र भएन, सार्वभौमसत्ताा सम्पन्न नेपाली नागरिकका मौलिक अधिकार पुनः बहाल भए। सँगै लोकतन्त्र शब्द व्यापक प्रयोगमा आयो। प्रतिनिधिसभा पुनस्र्थापना आन्दोलनका सर्वोच्च नेता एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आन्दोलनका सहयात्री दलको सहमतिमा सर्वसम्मत प्रधानमन्त्री बन्नुभयो। ०६३ जेठ ४ मा प्रतिनिधिसभा घोषणाबाट नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भए। सम्पूर्ण कार्यकारी अधिकार प्रधानमन्त्रीमा केन्द्रित भयो। त्यसले संविधानसभामा जाने मार्गचित्र तयार गर्‍यो। संविधानसभाको २०६५ जेठ १५ को पहिलो बैठकले गणतन्त्रमा जाने निर्णय लियो। यो दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने परम्परा स्थापित भएको १२ वर्ष पुगेको छ।

प्रकाशित मिति: : 2020-05-28 19:25:20

प्रतिकृया दिनुहोस्