रुकुम पश्चिम घटना: वडा अध्यक्षसहित सर्वसाधारण मिलेर हत्या गरे– अधिकारकर्मी

प्रदेश ५ का विभिन्न दलित अधिकारीकर्मी संस्थाहरुले गत जेष्ठ १० गते कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन्।  

घटना पश्चात जाजरकोट र रुकुम पश्चिम पुगेको उक्त टोलीले शुक्रबार एक कार्यक्रमकाबीच नेपालगञ्ज र कोहलपुरमा प्रतिवेदन सार्वजनिक गरेका हुन्। अधिकारकर्मीहरुको संयुक्त टोलीले उक्त प्रतिवदेन जिल्ला प्रशासन कार्यालय हुँदै नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकलाई बुझाएको छ।  

प्रतिवेदनमा उक्त वडाका अध्यक्षसहित सर्वसाधारण मिलेर लखेटीलखेटी, घरेलु हातहतियारको प्रयोग गरेर हत्या भएको उल्लेख गरिएको छ।

‘रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँमा घटेको घटनाको स्थलगत अध्ययन प्रतिवेदन–२०७७’ नाम दिइएको उक्त प्रतिवेदन १५ पेज लामो छ। उक्त प्रतिवेदनमा उक्त नरसंहारमा दलित समुदायका युवाहरुलाई कुटिकुटी मारेको जनाइएको छ। भने रुकुममा मारिएका सम्पूर्णलाई  सांस्कृतिक शहिद घोषणा गरिनु पर्ने र उनीहरुका परिवारलाई क्षतिपूर्तिको घोषणा गरिनु पर्ने,घाइतेहरुको निशुल्क उपचार तथा क्षतिपूर्ति, हत्यामा संलग्नलाई आजिवन काराबासको माग समेत गरिएको छ।  

रुकुम घटनामा नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजी जारी  छ।

नेपालगञ्जमा भएको बृहत भर्नालाई सम्बोधन गर्दै दलित अगुवा तथा नेपाल दलित मुक्ति संगठन प्रदेश पाँचका सह ईन्चार्ज पुजन विश्वकर्माले रुकुम पश्चिममा भएको जातीय नरसंहारमा सरकारले मौनता देखाएको मान्दै दोषीलाई अभिलम्ब सार्वजनिक गर्न माग गरे। 

‘गृह मन्त्रालयले गठन गरेको भनिएको उच्च स्तरीय छानविन समितिले छिटो भन्दा छिटो दोषी पत्ता लगाई सार्वजनिक गर्नु पर्छ,’ उनले भने,‘यदि राज्यले दलितहरुका माग सम्बोधन नगरे कडाभन्दा कडा आन्दोलनको आधिबेहेरी समेत सिर्जना हुनसक्छ।’

यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेले एक प्रेस विज्ञप्तिमा जारी गर्दै रुकुम पश्चिममा भएको सामुहिक हत्याको यर्थात छानविन हुनु पर्ने माग गरेको छ। 

शुक्रबार शाखाका सचिव कविन्द्र परिवारद्धारा हस्ताक्षरीत विज्ञप्तिमा हत्यामा संलग्नलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेको छ। यता उत्पीडित सामुदायिक विकास केन्द्र, बाँकेले पनि उक्त हत्या काण्डको विरोध गरेको छ। 

कार्यकारी निर्देशक रवि रोकायाघद्धारा हस्ताक्षरीत विज्ञप्तिमा अमानवीय कार्यको घोर भत्र्सना गरिएको छ। यता संयुक्त दलित संघर्ष समितिले बाँकेमा चरणबद्ध आन्दोलनको समेत घोषणा गरेको छ।
 

प्रकाशित मिति: : 2020-05-29 21:17:21

प्रतिकृया दिनुहोस्