प्रहरीले कुट्दा सफाइकर्मीको खुट्टा भाँचियो, वीरगन्जको फोहोर उठेन

सरसफाईका लागि खटिएका स्वीपरलाई पर्सा प्रहरीले अनाहकमा कुटपिट गरी ज्यादती गरेको भन्दै त्यसको विरोधमा सरसफाईकर्मीले शनिबारबाट वीरगन्ज महानगरपालिकाको फोहोर उठाएनन्।

महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीले काम रोकेपछि आज बिहानदेखि वीरगन्ज महानगरपालिकाको फोहोर नउठदा समस्या भएको छ।  

वीरगन्ज महानगरपालिकाले ठेक्का मार्फत तथा महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि फोहोर उठाउँदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन्।

गत बिहिबार सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकलसमेत खोसेर दुर्वयवहार गरेको थियो। त्यसैगरी शुक्रवार साँझ सरसफाईकर्मीले ठेलामा जम्मा गरेको फोहोर टयाक्टरमा हालेर ल्याण्ड फिल्ड लैजाने क्रममा माईस्थानमा ड्यूटीमा खटिएका प्रहरीले अवरोध गरी सरसफाईकर्मीलाई दुर्व्यवहार गरेपछि महानगरको फोहोर उठ्न नसकेको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताए।

कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको ठेकेदार गुप्ताले बताए। लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउने नाममा प्रहरीको ज्याद्ती बढ्दै गएको भन्दै अहिले यो घटनाको सर्वत्र आलोचना भएको छ। 

प्रकाशित मिति: : 2020-05-30 20:18:13

प्रतिकृया दिनुहोस्