सिडियो साब ! कोहलपुरमा पनि लकडाउन छ र ?

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा एक साता अघि प्रमुख जिल्ला अधिकारी परिवर्तन भए।

तत्कालिन सिडियो कुमारबहादुरको खड्काको स्थानमा स्याङ्जाका  सिडियो रहेका रामबहादुर कुरुम्वाङ बाँके आएका हुन्। बाँके आएपछि  उनले पहिलो निर्णय गरे, ‘कोरोना संक्रमणको उच्च जोखिम रहेको बाँकेका सबै पालिकामा निषेधज्ञा लागु गर्ने ।’ 

दोस्रो उनी, अघिल्ला सिडियोले पाइला समेत नटेकेको नरैनापुर गाउँपालिकामा स्थलगत अनुगमन गर्न पुगे । तेस्रो हो, अत्यावश्यक बाहेकका सम्पूर्ण पास रद्द गर्ने र लकडाउन प्रभावकारी बनाउने। तर उनकाे निर्णय कार्यन्वन हुन सकेन।

नेपालगञ्जपछि सबैभन्दा धेरै जनसंख्या रहेको कोहलपुरमा कुनै पनि किसिमको लकडाउन भएको जस्तो देखिदैन। उच्च जोखिममा रहेको स्थानमा लकडाउन प्रभावकारी नभएपछि यहाँका केही स्थानियहरुले  प्रश्न गर्न थालेका छन्, ‘ सिडियो साब ! कोहलपुरमा पनि लकडाउन छ र?’

कोहलपुरमा बस्दै आएका सामाजिक संञ्जाल प्रयोगकर्ता लक्ष्मण पौडेलले यस्तै आसय व्यक्त गर्दै कोहलपुरको खुकुलो लकडाउनका केही फोटोहरु पोष्ट गर्दै लेख्छन्,‘कोहलपुरमा लकडाउनको पालना’।

कोहलपुर मै बस्दै आएका एक वीत्तीय संस्थामा कार्यरत अशोक कोइरालाले केही दिनअघि यहाँ आएका नयाँ सिडियोलाई लक्षित गर्दै लेखेका थिए, ‘बाँकेमा जो सुकै सिडिओ आएपनि बाजि लिन्छु, मालपोत र नापी कार्यालयको घुसखोरी रोक्न सक्दैन। ’

कहिले कोरोना संक्रमण नेदेखिएको कोहलपुरमा दैनिक लकडाउन उल्लंघनका घटना बढ्दै गएपनि न यहाँका स्थानीय सरकारले चासो देखाएकाे छ न त जिल्लाको प्रशासनको नै। यसले गर्दा कोहलपुरमा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको स्थानीय तिलक परियार बताउँछन् ।

उनका अनुसार यहाँका सरोकारवाहरुको गैर जिम्मेवारीपनाका कारण जोखिम बढिरहेको छ। दैनिक कोहलपुर, बैजनाथ लगायतमा मानिसहरुको ठूलो भीड हुने गरेको उनले जानकारी दिए ।  

अहिलेसम्म बाँकेमा १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आठ मध्ये ६ पालिकामा कोरोना भाइरसको देखिएको छ । यसमा विषयमा सम्पर्क गर्दा कोहलपुरका नगरप्रमुख र बाँकेका सिडियोको फोन उठेन। 

फोटो सौजन्य: लक्ष्मण पौडेल, कोहलपुर

प्रकाशित मिति: : 2020-05-31 14:48:13

प्रतिकृया दिनुहोस्