पर्सा प्रहरीको सहायता कक्षद्धारा लकडाउनमा २१ लाखको औषधि वितरण (भिडियो)

पर्साको एकीकृत सहायता कक्षले लकडाउनको अवधिमा औषधि सेवनकर्ताको माग अनुसार २१ लाख १९ हजार ५ सय ७ बराबरको औषधि वितरण गरेको छ।

लकडाउन सुरू भएको समयदेखि अहिलेसम्म यस २ महिनाको अवधिमा १४ सय ७५ जना औषधि सेवनकर्तालाई सो परिमाणको औषधि वितरण गरिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

जिल्लामा भारतीय औषधिको प्रयोगकर्ता बढी भएकाले जिल्लावासीले औषधिको सेवन गर्न नपाई ज्यान गुमाउने अवस्था आउन नदिन गत चैत ११ गतेदेखि सहायता कक्षमा स्थापना गरेएको एसपी पन्तले बताइन्।

‘सहायता कक्षले निःशुल्क सेवा शुल्क वापत औषधिको मात्र रकम लिएर सिमापारीबाट ल्याइदिने व्यवस्था मिलाएका हौ। औषधि मात्र नभइ खाद्यान्नको समस्या लगायत अहिले महामारीको समयमा अन्य समस्यामा जनगुनासोमा सुनुवाई भइरहेको छ’, उनले भनिन्,‘लकडाउन तथा एक हप्ताको निषेधाज्ञाको समयमा ५४ जनालाई खााद्यान्न डिलेभरी गरेका छौ।’

जिल्ला प्रहरी कार्यालय पर्साको सहायता कक्षमा मात्रै २ महिनाको अवधिमा औषधि तथा खाद्यान्नको लागि कुल ३२ सय ६२ जनाको फोन आएको र विविध गुनासोको १७ सय ३३ जनाको फोन आएको विपद् व्यवस्थापन गुल्म प्रदेश २ बाट सहायता कक्षका प्रमुख रहेका प्रहरी निरिक्षक सरोज प्रजापतिले जानकारी दिए।

‘दुई देश लकडाउन भएपछि यहाँका स्थानीयमा औषधि अभावको गुनासो बढ्दै गएपछि यस्तो सीमा पारीबाट औषधि ल्याएर वितरण गरिने कामको सुरुवात गरिएको हो। अहिले दिनको कम्तिमा ३० हजार देखि ७० हजार सम्मको औषधि सीमा पारीबाट उपलब्ध गराइरहेका छ’, उनले भने।

खाद्यान्न औषधि तथा उद्दारका काममा अहिले सो सहायता कक्ष २४ सै घण्टा खुल्ला रहेको छ। उनले ९८४५५५१०११ मा फोन गरेर अथवा सोहि नम्बरमा औषधिको फोटो वाट्सएप गरेपछि अर्को दिन सम्म उपलब्ध गराइदिने गरेको समेत जानकारी गराए।

सहायता कक्ष प्रमुख प्रहरी निरीक्षक प्रजापतिका अनुसार आफूहरूले ल्याइदिए वापत कुनै सेवा शुल्क नलिए पनि सिमा पारीका औषधि व्यवसायीले लकडाउनको फाइदा उठाउँदै नेपाली रूपैयालाई भारतीय शुल्क साटेवापत बढी लिने गरेको बताए।

यता मानसीक रोग सम्बन्धि औषधिको सेवा लिन पुगेका मुर्लि १३ का उमेश कुमार पाण्डेले जिल्ला प्रहरी कार्यालयले बिना झन्झट औषधि उपलब्ध गराइदिँदा सहज भएको बताए। औषधि पाएपछि मात्रै पैसा दिनुपर्ने र ल्यादिए वापत कुनै शुल्क नलाग्ने भएकाले आफूहरू ढुक्क भएको उनले बताए। 

कोभिड १९ को संक्रमण सुरू भएपछि एकीकृत सहायता कक्षलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी वीरगन्ज महानगरपालिका तथा यहाँका भोलेन्टियर संस्था सानो पाइला, युवा वचन, भोलेन्टियर टिम तथा मानवसेवा आश्रमलगायत अन्य संघ संस्थाको समन्वयमा सञ्चालन भइरहेका छ।

औषधि सेवा चाहने बढी वीरगंज महानगर कै नागरिक रहेको सहायता कक्षले जनाएको छ। औषधि सेवा लिन चाहनेमध्ये अधिकांश मधुमेहका रोगी, मुटुरोगी रक्तचाप तथा मानसिक रोगी रहेको उनले बताए।

प्रकाशित मिति: : 2020-05-31 17:06:34

प्रतिकृया दिनुहोस्