सलहको हुल पसेपछि किसानलाई धानको ब्याड जोगाउने चिन्ता, 'ट्र्याकिङ'मा मन्त्रालय !

प्रकाश आचार्य

रूपन्देही विभिन्न ठाउँमा शनिबार बिहान फाट्टफुट्ट देखिएको सलह दिउँसो बुटवलको आकाशमा एकाएक हुल नै देखियो । सलह कीराको बथानले रूपन्देहीका बालीनाली र आकाश ढाकेपछि सलह रहेको धेरैले आशंका गरे । 

रूपन्देहीको बुटवल, तिलोत्तमा र देवदह आसपासको क्षेत्रमा देखिएको फट्यांग्रा प्रजातिको कीरा सलह रहेको प्रदेश पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्टि गर्‍यो ।

बिहान १० बजे रूपन्देहीमा देखिएको सलह साँझ पाल्पाका विभिन्न ठाउँमा पुगेर बसेको मन्त्रालयले बताएको छ । रूपन्देहीमा सलह देखिएलगत्तै मन्त्रालयले आफू मातहत रहेका कृषि ज्ञान केन्द्रहरूबाट सलहको ट्र्याकिङका लागि प्राविधिक टोली खटाएको छ । 

खेती लगाउने मुख्य सिजनमै सलह भित्रिएपछि अहिले प्रदेश पाँचका किसानमा सन्त्रास छाएको छ । कृषि क्षेत्रमा ठूलो संकट निम्त्याउने सलह कीरा आएपछि सबै क्षेत्रमा सलहबाट बाली कसरी संरक्षण गर्ने भन्ने चिन्ता थपिएको हो । कीराले धानको बीउ, फलफूलका बोटबिरुवा र तरकारीका बाली खाएको छ । सलह भारतको गोखरपुरबाट सुनौली हुँदै रूपन्देही प्रवेश गरेको थियो । 

प्रकाशित मिति: : 2020-06-28 20:49:00

प्रतिकृया दिनुहोस्