पहुँच पुग्ने घरमा, नपुग्ने क्वारेन्टाइनमा

किशोर बुढाथोकी

विराटनगर महानगरपालिका-१० की ३६ वर्षीया महिला र ६ महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। वडाध्यक्ष माधवराज वाग्लेका अनुसार आमा र छोरा दुवैको पीसीआर रिपोर्ट पोजेटिभ आयो। मारवाडी समुदायकी ती महिला  श्रीमानसँग लकडाउनपूर्व सुत्केरी गराउन भारतको सिलिगुडी माइत गइन्। ६ महिने बच्चा लिएर उनीहरू असार १ गते विराटनगर फर्किएको वडाध्यक्ष वाग्लेले बताए।

व्यापारी एवं मारवाडी समुदायका भएकाले उनीहरूको पहुँच माथिसम्म थियो। त्यही पहुँचका भरमा उनीहरूलाई घरमा गएर बस्न कसैले पनि रोक्न सकेन। क्वारेन्टाइनमा बसेर परीक्षण गर्दै संक्रमण भए नभएको पुष्टि भइसकेपछि मात्रै घरमा जानुपर्ने भए पनि सिधै उनीहरूले आफ्नो घरमा गएर बस्ने अनुमति पाए। वडाध्यक्ष वाग्लेले कागजी प्रक्रिया पूरा गरेर उनीहरूलाई घरमै बस्न अनुमति दिइएको बताए। तर पछि परीक्षणका क्रममा महिला र शिशुमा कोरोना पोजेटिभ देखियो। अहिले उक्त परिवार तनावमा छ। उनीहरूसँग को को व्यक्ति सम्पर्कमा आए र उनीहरूको सम्पर्कमा रहेका कतिलाई कोरोना संक्रमण छ या छैन भन्ने यकिन हुन बाँकी छ। भारतबाट आए पनि पहुँचका भरमा क्वारेन्टाइन बस्न छाडेर घरमा गएर बस्नुले थप संकट निम्त्याएको छ।

प्रकाशित मिति: : 2020-07-01 09:10:17

प्रतिकृया दिनुहोस्