चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भारतको निर्णयलाई अमेरिकाले गर्‍याे समर्थन

अमेरिकाले चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउने भारतको निर्णयलाई समर्थन गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यो निर्णयले भारतको अखण्डता र राष्ट्रिय सुरक्षाको साथै सार्वभौमिकता सुरक्षित हुने बताए। 

चीनसँग लद्दाखमा जारी द्वन्द्वको क्रममा भारत सरकारले साेमबार चीनको ५९ मोबाइल एपमाथि प्रतिबन्ध लगाएकाे थियाे। यस सूचीमा लोकप्रिय एपहरुहरू टिकटक, यूसी ब्राउजर, हेलाे, सेयर इटलगायत छन्।

भारतकाे केन्द्र सरकारले यी एपहरू देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय सुरक्षाको हिसाबले खतरनाक भएकाे दावी गर्दै आएकाे छ। यी चिनियाँ एपहरूका सर्भर भारत बाहिर अवस्थित रहेकाे बताइन्छ। यी एपमार्फत प्रयोगकर्ताहरूको डाटा चोरी भइरहेको भारतकाे दावी छ। 

अमेरिकामा पनि प्रतिबन्ध लगाउन माग

अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीसँग सम्बन्धित सांसदहरूले ट्रम्प प्रशासनलाई चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

 उनीहरुले सबैभन्दा बढी टिकटकलाई राष्ट्रिय सुरक्षाको लागि खतरनाक मान्दै आएका छन्। 

गत हप्ता राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चिनियाँ सरकारले टिकटकलाई आफ्नै उद्देश्य प्राप्तिका लागि प्रयोग गरिरहेको आरोप लगाएका थिए। अहिले पनि संघीय सरकारी अधिकारीहरुद्वारा टिकटक प्रयोग प्रतिबन्ध गर्न खोज्ने दुई विधेयक अमेरिकी संसदमा पेन्डिङ रहेकाे छ।

यता भारतका टिकटक प्रमुख निखिल गान्धीले मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले भारतीय कानून बमोजिम सबै डाटा गोपनीयता र सुरक्षा आवश्यक्ताहरूको साथ राखेकाे जनाएका थिए।

उनले भारतमा रहेका आफ्ना प्रयोगकर्ताहरूको सूचना कुनै पनि विदेशी सरकारलाई नदिएकाे प्रष्ट पारे।  
 

प्रकाशित मिति: : 2020-07-02 05:59:56

प्रतिकृया दिनुहोस्