प्रदेशका गौरव आयोजना सुस्त

सुदूरपश्चिम व्युरो। धनगढी : समृद्धिको आधार सडक हो भन्दै प्रदेश सरकारले दुई वर्ष अघि छनोट गरेका ९ वटा प्रदेश गौरवका सडक आयोजना कछुवा गतिमा छन्। धेरै सडकको ठेक्का नै लागेको छैन। केहीको ठेक्का भए पनि काम सुरु भएको छैन।

अछामको मंगलसेनलाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी–जंगलघाट–मंगलसेन सडक प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ का रुपमा राखेको ३ वर्ष भयो तर निर्माण सुस्त छ।

२०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए। राजाको पालामा सडकको योजना त बन्यो तर त्यसले पञ्चायत हुँुदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदासमेत मूर्त रुप पाएको छैन।

धनगढीबाट अछामसम्म झण्डै तीन सय किलोमिटर सडक छ। तर चिसापानी–जंगलघाट–मंगलसेन सडक बन्यो भने त्यो दूरी १ सय १० किलोमिटरमा छोटिनेछ। २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमाना जोडिएको भारतको तीकुनियाबाट जिप किनेर त्यसलाई काठमा बाँधेर, काँधमा बोकेरै मंगलसेन ल्याएका थिए।

प्रकाशित मिति: : 2020-07-05 08:10:03

प्रतिकृया दिनुहोस्