पाकिस्तानका विदेशमन्त्री भन्छन्– नेपालीको साथमा हामी छौं

बढी र पहिरोले नेपालमा पुर्‍याएकाे धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्त गरेकाे छ।

पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले शुक्रबार साँझ एक ट्वीट गर्दै दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन्।

विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं। हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं।’

At this time of distress due to flooding and landslides, we extend our heartfelt sympathies and condolences to the people of Nepal. We stand in solidarity with the Nepalese people and pray for the families affected by this calamity. @PradeepgyawaliK

— Shah Mahmood Qureshi (@SMQureshiPTI) July 10, 2020

यसअघि भारत काठमाडौंस्थित भारतीय दूतावासले पनि सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढीपहिरोका कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको थियाे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन्। २६ जना घाइते भएका छन्।

यस्तै वैशाख १ देखि शुक्रबारसम्म देशभर पहिरो र बाढीका १ सय ६३ वटा घटना भएका छन्, त्यसमा परेर ५० जनाको ज्यान गएको छ भने २४ जना बेपत्ता छन्। पहिरो र बाढीका कारण ९१ घरमा क्षति पुगेको छ। पहिरोबाट २ सय ६५ परिवार प्रभावित भएका छन्। यसबाट १२ करोड ८३ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।  
 

प्रकाशित मिति: : 2020-07-11 06:59:05

प्रतिकृया दिनुहोस्