के फेरि पूर्ण लकडाउन हुन्छ? सरकारको तयारी : सतर्कतासहितको आर्थिक गतिविधि, परिस्थिति अनुसार नियन्त्रण

काठमाडौं : लकडाउन अन्त्य भएसँगै कोरोनाको जोखिम ह्वात्तै बढेपछि सरकार पुनः जोखिम न्यूनीकरणको खोजीमा जुटेको छ। प्रदेश २ तथा उपत्यकामा संक्रमितको संख्या समुदायस्तरमा नै पुगिसकेको आशंका बढेपछि सरकारले राजनीतिक दलका नेतृत्वकर्ता तथा विज्ञसँग परामर्श शुरु गरेको छ। पछिल्ला दिनमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा पनि संक्रमण बढिरहेको छ।

संक्रमण बढेपछि जोखिम नियन्त्रणबारे छलफल गर्न मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवासहितका राजनीतिज्ञलाई आमन्त्रण गरे। बैठकमा सरकारका मन्त्रीहरु, स्वास्थ्य क्षेत्रका विज्ञ र आर्थिक क्षेत्रका विज्ञ सहभागी थिए।

सहभागीबाट प्राप्त सुझावका आधारमा जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी सीसीएमसीले गर्नेछ। सीसीएमसीले आवश्यक खाकासहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाउनेछ। सोही अनुसार जोखिम न्यूनीकरणको मोडालिटी तयार गर्न 
प्रमुख प्रतिपक्ष, स्वास्थ्य र आर्थिक क्षेत्रका विज्ञ तथा मन्त्रीहरुसँग पनि सुझाव लिइएको छ।

मिश्रित सझाव, ‘लकडाउनलाई रेड सिग्नल’

प्रधानमन्त्रीसँगको छलफलमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र विज्ञबाट मिश्रित सुझाव प्राप्त भएको छ। तर, पूर्ण लकडाउनमा जाने विषयलाई अधिकांशले अस्वीकार गरेका छन्। छलफलमा सहभागी एक विज्ञका अनुसार प्रधानमन्त्रीको चासो पूर्ण लकडाउनमा जान सकिन्छ वा सकिन्न भन्नेमा पनि थियो।

तर, सुझावमा विपक्षी दलका नेता शेरबहादुर देउवादेखि अन्य नेताहरुले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गरेर लकडाउनको मोडालिटी तय गर्न सुझाए। संक्रमण जोखिम हेरेर निश्चित क्षेत्र लकडाउनमा जान सकिने राय नेताहरुको छ।

प्रकाशित मिति: : 2020-08-04 22:41:57

प्रतिकृया दिनुहोस्