बिरामीको उपचार नगर्ने निजी अस्पतालको स्वीकृति खारेज गराैँ: वीरगञ्ज युवा समाज

बिरामीको उपचार गर्न नमान्ने अस्पतालको स्वीकृति खारेज गरेर कारवाही गर्न वीरगञ्ज युवा समाजले माग गरेको छ। 

जिल्ला प्रशासन कार्यालयबाट निर्देशनात्मक सूचना जारी भएको दुई दिन नबित्दै वीरगञ्जमा रहेका केही निजी अस्पतालबाट उपचार नपाएर दुईजना बिरामीले ज्यान गुमाएसँगै युवा समाजले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। 

जिप्रले दुई दिनअघि सूचना जारी गर्दै सबै निजी अस्पताललाई बिरामीको उपचार गराउन निर्देशन दिएको थियो। तर सूचना टाँसेर निर्देशन दिने जिप्रका भने आँखामा पट्टी बाँधेर सुतेको समाजका अध्यक्ष कमल चौगाइले विज्ञप्तिमार्फत आरोप लगाएका छन्। 

कोभिड बाहेकका बिरामीले समेत अस्पतालको चक्कर काट्दा काट्दै गेटैमा ज्यान गुमाउनु परेको भन्दै निजी अस्पताल अहिले बढी उत्तरदायी हुनुपर्नेमा उल्टै मानवियता गुमाएको उनले बताए। 

‘वीरगञ्जमा रहेका निजी अस्पताल सञ्चालकहरु कहीँ न कहीँ राजनीतिक दलसँग आबद्ध छन्। कतिपय त राजनीतिमै होमिएकाहरु रहेकाले यसमा चलखेल भइरहेको छ,’ उनले भने।

विज्ञप्तिमा अहिले कोरोनाका कारण ज्यान गुमाउने भन्दा सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था बढ्ने जनाइएको छ। ‘अहिले पैसावालाले हेलिकप्टर नै मगाएर काठमाडौं पुगेका छन्। तर पैसा नहुनेहरु यहीँका अस्पताल चहार्दा चहार्दै मृत्युवरण गर्न बाध्य हुनु परिरहेको छ। यस्तो बेला वीरगंका हामी सबै मिलेर लड्नु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ। 

कोभिड बाहेकको बिरामीले उपचार नपाई मर्न परिरहेको बेला सडकमा उत्रिएर मर्न परेपनि पछि नपरौं भन्दै यस्तो घटनामा कुनै सुधार नआए सडकमा उत्रिएर प्रतिरोध गर्ने युवा समाजले चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2020-08-08 16:12:12

प्रतिकृया दिनुहोस्