बस्ती सार्न एक वर्षअघि नै गुहारेका थिए लिदीवासीले सरकार, प्रशासनको जवाफ थियो, 'भूगर्भविदले हेरेपछि मात्रै'

पहिलोपोष्ट

काठमाडौँ

प्रकाश भण्डारी 

विपत्ती बाजा बजाएर आउदैन। तर सिन्धुपाल्चोकको लिदीको पहिरो भने बाजा बजाएरै आयो। बस्ती पहिरोको जोखिममा थियो। यसबारे सरकारपनि जानकार नै थियो। लिदीमा पहिरो जान सक्ने पूर्व संकेत देखिएकै थियो। बस्ती माथि महिनौंअघि चिरा देखिनुले पहिरो आउँछ भन्ने संकते गर्थ्यो। तर बस्ती सार्ने बारे सरकारले योजना नै बनाएन। जसकारण लिदीवासीका लागि आफ्नै गाउँ 'एकै चिहान' बन्नुपर्ने कारण बन्यो। पहिरोभित्र परेको बस्तीबाट ११ जनाको शव निकालिएको छ। २७ जना  अरु बेपत्ताको सूचीमा छन्।

बस्ती सार्न स्थानीयको ताकेता तर सरकारको बेवास्ता

जुगल गाउँपालिका वडा नं २ लिदीका स्थानीयले साउन २३ गते जिल्ला विपद ब्यवस्थापन समितिलाई अनुरोध गर्दै पत्र लेखेको थियो - 'लगातारको वर्षाले जोखिममा परेकोले बस्ती सारिदिन पर्‍यो।'

'लिदी बस्ती जोखिममा छ, तत्कालै यसलाई अस्थायी रुपमा सारौं,' स्थानीयले सरकारलाई गुहारेका पनि थिए। वडा नं २ का वडा अध्यक्ष प्रताप लामाले आफूले जिल्ला प्रशासन कार्यालय र बिपद ब्यवस्थापन समितिलाई अहिलेको विपद आउन सक्ने भन्दै पूर्व जानकारी गराएको बताए। तर स्थानीयको माग जिल्ला प्रशासन र विपद ब्यवस्थापनले सुनेन।

पत्र बुझाउन गएका लामाको टोलीले उत्तर पाए, 'भूगर्भविदको टोलीले हेरेपछि मात्रै सार्न सकिन्छ।' त्यसपछि प्रशासनले भनेको जस्तो न भूगर्भविद् आए, न अनुगमनमा गर्न न त सरकारले कुनै चासो नै देखायो।

प्रकाशित मिति: : 2020-08-14 18:08:17

प्रतिकृया दिनुहोस्