अन्योलकै बीच महाधिवेशनका लागि कांग्रेसमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको महाधिवेशन कहिले हुने भन्ने टुंगो छैन। तर पार्टीले तय गरेको तिथि आगामी फागुन ७ गते नहुने लगभग पक्का छ।

महाधिवेशनको ठेगान नभए पनि नेताहरु उम्मेद्वारी घोषणा र गठजोडले भने कांग्रेसभित्रको महोल तातिरहेको छ। यहीँ माहोलमा उपसभापति विमलेन्द्र निधिले आफ्नै गुटका नेता, सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै उम्मेदवारी घोषणा गरेपछि उनी अरू गुट उपगुटको समेत तानातानमा परेका छन्।

सभापति देउवाको सभापतिमा दोहोरिने चाहना जान्दा जान्दै निधिले देउवालाई नै भेटेर आफूलाई सभापति पद छोड्न र निर्विरोध चयनका लागि सघाउन आग्रह गरेको समाचार बाहिरिएपछि कांग्रेसभित्र एक किसिमको हंगामा भएको छ।

कतिपयले कांग्रेसभित्र निधिले देउवासँगको लामो राजनीतिक सहयात्रालाई विश्राम दिएर नयाँ गन्तव्य रोज्न लागेकोसम्म तर्क गरेका छन्। तर निधिले सार्वजनिक रुपमा मुख खोलेका छैनन्।

सभापति देउवासँग सम्बन्ध पनि बिगारेका छैनन्। अहिले पनि संस्थापन पक्षका महत्त्वपूर्ण भेला, बैठक र रणनीति निर्माणदेखि पार्टीको क्रियाशील सदस्यता वितरणमा देउवा निधिको एउटै श्वर र ताल देखिदै आएको छ । तर संस्थापन विरोधी खेमाभित्रै धेरै उम्मेद्वार भएर तनाव भइरहेका बेला निधिको उम्मेद्वारी घोषणा यस खेमाका लागि राहतको समाचार बनेको छ । 

त्यसो त निधिको उम्मेद्वारी घोषणा सभापति देउवासँगको मोलमोलाइ हो वा  साँच्चै अघि बढेका हुन्, त्यो केही समयमा थाहा होला । तर यही बेला सभापति देउवा समेत  निधिलाई आफैसँग राख्न प्रयास गरिरहेका छन् र आफू निकटका नेताहरुलाई निधि आफ्नै समूहमा रहने बताइरहेका छन् । उता कोइराला परिवारले पनि निधिलाई देउवासँग टाढा बनाउन सके राजनीतिक लाभ हुने आकलन सहित सक्रियता बढाएको छ । कांग्रेसका केही नेताहरु निधि र प्रकाशमान सिंहको मिलनमा जोड दिइरहेका छन् । त्यसो त केही वर्षदेखि कांग्रेसको एउटा तप्का वीपी पुत्र सशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधि एक भएर बेग्लै शक्ति केन्द्र बनाउने कसरतमा छ, जुन अहिले फेरि जुर्मुराएको देखिन्छ । 

निधि तराई मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सबैभन्दा प्रभावशाली नेता हुन् । महाधिवेशनमा मतदाता पनि यही क्षेत्रका बढी भएकाले निधिलाई तानातानमा परेको देखिन्छ ।

प्रकाशित मिति: : 2020-09-23 12:06:00

प्रतिकृया दिनुहोस्