लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै अर्थमन्त्रीलाई कालो झण्डा

अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन्।

मंगलबार बुटवल आएका नेकपा महासचिवसमेत रहेका पौडेललाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेवि) रुपन्देहीले कालोझण्डा देखाएका हुन्।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन्।

मन्त्री पौडेल बुटवलकाे  सैनामैना मा.बि रानिबगिया र पर्राेहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए।

कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै पौडेलविरुद्ध नाराबाजी पनि गरेका थिए। प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन्।

सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।

कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-25 09:43:00

प्रतिकृया दिनुहोस्